• १९ असोज २०८१, शनिबार

मतदाता प्रभावित हुनुहुँदैन : नेता पोखरेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २१ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावका बेला अनेक उम्मेदवारको चुनावी नारामा मतदाता नपरेर विकासप्रेमी उम्मेदवारको पहिचान गरेर मतदान गर्नुपर्ने बताउनुभएको छ ।  

सोमबार बिहान नेता पोखरेलले वडा ४ का मतदातासँग घरदैलो कार्यक्रममा सो कुरा बताउनुभएको हो । सो अवसरमा मतदाताले नेता पोखरेललाई विजयीको शुभकामना दिनुभएको थियो ।

यसअघि सुरु गरिएका बाँकी काम पूरा गर्नका लागि पनि आफूलाई निर्वाचित हुन आवश्यक रहेको भन्दै नेता पोखरेलले सहयोगको अपिल गर्नुभयो । स्थानीय रामकुमार राजोपाध्यायले नेता पोखरेललाई बाहेक अन्यलाई यसअघि पनि मत नदिएको र अब पनि पोखरेललाई नै मत दिने बताउनुभयो । ‘आजसम्म उहाँलाई नै भोट हाल्दै आएका छौँ र यो पटक पनि उहाँलाई नै दिने हो’ राजोपाध्यायले भन्नुभयो । 

‘देश विकासको एजेन्डा बोकेको पार्टी एमाले नै हो । यो कुरा सबैलाई थाहा एको छ । उहाँले थप्नुभयो, “नयाँ मतदाता युवाहरूलाई पनि यही बुझाउनुपर्ने आवश्यकता छ । यहाँले जितेर आएपछि युवाहरूका लागि विशेष कार्यक्रम ल्याएर अगाडि बढ्नुहोला, जीतको शुभकामना !” नेता पोखरेलले मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रहरूले सिर्जना गर्ने फण्डाबाट प्रभावित नहुन मतदाताहरूलाई आग्रह गर्नुभयो । कसले के भन्छ भन्दा पनि जनतासमक्ष कसरी चिनिएका छौँ भन्ने मुख्य कुरा भएको बताउँदै उहाँले भन्नुभयो, “हामी जे हौँ जनता समक्ष खुलस्त छौँ । जनताको पक्षमा काम गर्न क्रियाशील छौँ । यस्ता चुनावी फण्डाबाट जनता प्रभावित हुनुहुँदैन ।’

एमालेको काम जनताले देखेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावमा जनताले कामका आधारमा मूल्याङ्कन गर्ने बताउनुभयो । पोखरेलले आफू मात्रै नभई एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने काम आजसम्म नगरेको दाबी गर्नुभयो ।