• १३ साउन २०८१, आइतबार

गोरखापत्रका समाचारदाताहरूलाई निर्वाचन अनुशिक्षण

सदर मत बढाउन सञ्चारको भूमिका महत्त्वपूर्ण

blog

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, कात्तिक २१ गते । गोरखापत्र संस्थानले सुदूरपश्चिम र कर्णाली प्रदेशमा कार्यरत आफ्ना जिल्ला समाचारदातालाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । निर्वाचनसम्बन्धी सत्यतथ्य समाचार लेखन र सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यले संस्थानले गोरखापत्रमा कार्यरत समाचारदाताहरूलाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको हो । 

अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति रोकथामका लागि आचारसंहिताको व्यवस्था गरिएको बताउनुभयो । आचारसंहिता सबैलाई लागू भएको उल्लेख गर्नुहुँदै त्यसको पालना पनि सबैले गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 


मतदाता शिक्षा प्रवर्द्धन गरी सदर मत वृद्धि गराउन सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेको सचिव दुवाडीको भनाइ छ । निर्वाचन स्वच्छताको प्रवर्द्धन भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनमा सञ्चार जगतले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

यसैगरी, कार्यक्रममा विशिष्ट अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले पत्रकारितामा राजनीतिक प्रतिविम्ब देखिन नहुने बताउनुभयो । ‘पत्रकारिता आफैँ पनि स्वनियमनमा बस्ने विधा हो’, उहाँले भन्नुभयो,  ‘पत्रकारसहित हामी सबै कुनै न कुनै राजनीतिक विचारधारामा आबद्ध छौँ तर त्यो विचारधारा हाम्रो काममा देखिनु भएन । पत्रकारितामा राजनीतिक प्रतिविम्ब हुनु भएन ।’’ 


संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो । यसैगरी,  कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले मन्तव्य राख्नु भयो । 

अनुशिक्षण कार्यक्रममा आयोगका सचिव दुवाडीले निर्वाचन आयोगबाट निर्वाचनका सन्दर्भमा भइरहेका काम र तयारीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यस्तै, अनुशिक्षण कार्यक्रममा गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराई र वरिष्ठ पत्रकार हरिबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको व्यवस्थापन गोरखापत्र संस्थान सुदूरपश्चिम प्रदेश कार्यालयले गरेको थियो । अनुशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र कर्णाली प्रदेशका १० जिल्लामा कार्यरत गोरखापत्रका जिल्ला समाचारदाताहरूको सहभागिता रहेको छ ।