काठमाडौं, कात्तिक २१ गते । काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा सहमति जुटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विगतमा हिमाल सिमेन्ट उद्योग रहेको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण गर्न लागेकामा स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए । खेल मैदानका रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयवासीले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए ।
आइतबार कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उपप्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमानसिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको हो ।
चोभारस्थित सुक्खा बन्दरगाहको प्रवेशद्वारबाट सुरु हुने करिब दुई किलोमिटर ११ केभी लाइन स्थानीयवासीको मागबमोजिम भूमिगत गर्न प्राधिकरण सहमत भएको छ । प्राधिकरणले स्थानीयवासीले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ ।
मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले हिमाल सिमेन्ट उद्योगको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।
प्राधिकरणले सबस्टेसन निर्माण तत्काल अगाडि बढाउने जनाएको छ । विद्युत् आपूर्तिको अत्यावश्यकलाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको प्राधिकरणले जनाएको छ ।
काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट–चापागाईँ–भक्तपुर १३२ केभी प्रसारण लाइन
निर्माणमा ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धि र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले अवरोध गरिरहेका छन् । त्यसको विकल्पमा प्राधिकरणले सो सबस्टेसन बनाउन लागेको हो । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहनेछन् ।