• ९ मंसिर २०८१, आइतबार

खानेपानी र सडक सुधारको माग

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक २० गते । गुल्मीमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गाउँबस्तीमा चुनावी सरगर्मी बढ्दै गएको छ। जनताको मत आफ्नो पोल्टामा पार्न विभिन्न चुनावी एजेन्डा लिएर दलका प्रतिनिधि तथा उम्मेदवा घरदैलोमै पुगिरहेका छन्।

यस जिल्लाको छत्रकोट गाउँपलिका–४, दिगाम मौलीपुरमा अन्तक्र्रिया कार्यक्रमको माध्यमबाट मतदाताले पनि आफ्ना विभिन्न आवश्यकता र माग उम्मेदवारसँग राखेका छन्। छत्रकोट गाउँपालिका–४, दिगामका स्थानीयवासी तारापति ज्ञवालीले सडकको समस्या भएको बताउनुभयो। बर्खायामको समयमा हिँड्न निकै समस्या पर्छ। सवारीसाधन चल्दैनन्, बिरामी हुँदा पैदल हिँडेर अस्पताल जानुपर्ने समस्या छ उहाँले भन्नुभयो।

हिउँदको समयमा बाटो सफा गर्ने वर्षामा सातमुरे–लुम्छा सडकको त्यति चासो नदिँदा समस्या भोग्दै आएको पीडा सुनाउँदै उहाँले सडकको समस्या समाधानका लागि उम्मेदवासँग आग्रह गर्नुभयो। त्यस्तै लेकनाथ पन्थले पनि सडक मर्मत र खानेपानीको व्यवस्थापनका लागि चासो दिएर काम गर्न उम्मेदवारसँग आग्रह गर्नुभयो। स्थानीय तिलक न्यौपाने भन्नुभयो, “गएको पाँच वर्षमा यहाँको सडकमा मर्मत सम्भारका लागि बजेट परेन। २०७० सालको संविधान सभाको निर्वाचनमा यस क्षेत्रबाट निवार्चित हुनुभएका डा. चन्द्र भण्डारीको पहलमा यो सडकलाई बजेट परेको थियो। 

त्यसयताका जनप्रतिनिधि यो सडकका लागि बजेटको व्यवस्थापन गर्न सक्नुभएन, स्थानीयवासी न्यौपानेले भन्नुभयो, “जनप्रतिनिधिले बजेट विनियोजित नगरेकै कारण सडक मर्मत नहुँदा जनतालाई समस्या पर्ने गरेको छ।” यहाँको उखुको खुदो प्रसिद्ध छ। सडकको कारण व्यापारमा समस्या भएको छ, न्यौपानेका अनुसार उखुलाई अलि पहिचान बनाउनका लागि सडकको अति नै आवश्यकता परेको छ। सडक र खानेपानी व्यवस्थापन भएमा दिगामवासीले राहत पाउने छन्। 

गुल्मी क्षेत्र नं. १ प्रदेश सभा (ख)का उम्मेदवार धनेन्द्र कार्कीले विकासमा सबैको पहुँच हुने गरी आफूले काम गर्ने बताउनुभयो। सबै नागरिकलाई विकाससँग जोड्ने सम्भावनाअनुसार काम गर्न आफ्नो उम्मेदवारी रहेको कार्कीको भनाइ छ।

त्यस्तै गुल्मी क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार भण्डारीले सालझण्डी सडक छिट्टै निर्माण हुने बताउनुभयो। २०७० सालमा आफू संविधान सभा सदस्यमा निर्वाचित हुँदा ७३ वटा सडक योजना रातो किताबमा राखेको बताउँदै नेता भण्डारीले कतिपय योजना पूर्वसरकारले काटिदिएको जानकारी दिनुभयो।