• ९ मंसिर २०८१, आइतबार

बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै : नेता पौडेल

blog

छविलाल पाण्डे 

बुटवल, कात्तिक १८ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमामा बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ । 

तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई शुक्रवार दिउँसो सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा चार वर्षअघि सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै अव छिट्टै पूर्वाधार निर्माणको काम सुरु हुने बताउनुभयो । 

पूर्वाधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उहाँले मेडिकल कलेज निर्माणसँगै रोजगारीका नयाँ अवसर सिर्जना हुने बताउनुभयो । त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो ।  

पौडेल अर्थमन्त्री भएका बेला तिलोत्तमामा बुटवल मेडिकल कलेज स्थापनाको अवधारणा अघि बढेको थियो । तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा. सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव तयार गरी जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । 

अहिले सरकारी मेडिकल कलेजको डीपीआर तयार भइसकेको बताउँदै नेता पौडेलले मेडिकल कलेज स्थापनापछि तिलोत्तमाले स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाको वडा १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्ने उहाँको भनाइ छ । गुरुयोजना अनुसार १ हजार बेडको अस्पताल बन्ने नेता पौडेलले बताउनुभयो ।  

सोही घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं २ (क) का उम्मेदवार लीला गिरीले शान्ति र विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको चर्चा गर्नुभयो ।