• १६ भदौ २०८१, आइतबार

‘क्यालिब्रेसन’ उडानको तयारी

blog

कास्की समाचारदाता

कास्की, कात्तिक १८ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘क्यालिब्रेसन’ उडानको तयारी गरिएको छ। विमानस्थल सञ्चालनका लागि पूर्व रिठेपानी डाँडा कटान सकिएलगत्तै क्यालिब्रेसन उडान हुने जनाइएको छ। विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार एक हप्ताको सूचनापछि डाँडा कटान सुरु हुनेछ। रिठेपानी डाँडा १४ मिटर काटेपछि परीक्षण उडान गर्न सकिने प्रमुख मुनाकर्मीले बताउनुभयो।

‘‘डाँडा काटेको माटो व्यवस्थापन गर्न छ महिना लाग्छ तर अहिले हामीलाई परीक्षण उडानका लागि १४ मिटर काटे पुग्छ,’’ उहाँले भन्नुभयो। यसअघि रिठेपानी डाँडामा छ सय रुख काटिइसकेका छन्।

वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिएसँगै रुख कटानको काम सकिएको उहाँले सुनाउनुभयो। रिठेपानी डाँडाको ३८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी सरकारको नाममा छ। 

करिब २२ अर्ब रुपियाँ लागतमा चिनियाँ कम्पनीले निर्माण थालेको पोखरा विमानस्थलको मुख्य कामहरू सकिएको मुनाकर्मीले जानकारी दिनुभयो। ‘‘विमानस्थलको ‘माइनर’ काम मात्र बाँकी छ। अब सबै काम सकेर परीक्षण उडान गर्नुपर्छ। नोभेम्बर, डिसेम्बरभित्र क्यालिब्रेसन उडान गरेर अङ्ग्रेजी नयाँ वर्षमा पोखरा विमानस्थलबाट उडान सुरु गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो। 

विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक निर्माण भने अझै भएको छैन। तेल भर्न आवश्यक आयल डिपो बनेको छैन। अहिले चलिरहेको पोखरा विमानस्थलकै डिपोको तेल गाडीमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिने निगमको तयारी छ।

पोखरा विमानस्थल सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण भनेको ल्यान्डफिल साइट सार्नुपर्ने आवश्यकता औँल्याइएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्य फोहोर लगेर थुप्रो लगाउने ल्यान्डफिल साइटभन्दा पनि नयाँ विकल्प खोजी भइरहेको बताउनुहुन्छ। 

त्यस क्रममा उहाँले फोहोरबाट बिजुली र मल निकाल्ने प्रविधि बुझ्न हेटौँडा हुँदै धरान र भारतको दिल्लीसम्मको अध्ययन अवलोकन भ्रमण गरिसक्नुभएको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्डअनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्।