• १६ भदौ २०८१, आइतबार

चिया खुवाउँदै भोट माग्दै

blog

सन्तोष सुवेदी

कास्की, कात्तिक १८ गते । जनतासँग भोट माग्नका लागि उम्मेदवारले अनेक उपाय रच्न थालेका छन्। कोही खेतबारीमै पुगेर धान काट्न र झार्न सघाउने, कोही खुट्टा ढोग्ने, कोही घाँसको भारी बोक्नेलगायत यस्तै यस्तै गतिविधि सञ्चालन गर्दै आएका छन्। 

यस्तो रमाइलो दृश्य चुनावको बेलामा मात्र देख्न पाइन्छ। पोखरामा पनि यस्तै रमाइलो तर फरक खालको प्रचार देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कास्की क्षेत्र २ (ख) का उम्मेदवार अरुण गिरीले मतदातासँग मत माग्न आफैँ चिया पकाएर खुवाउन थाल्नुभएको छ। आफ्नो क्षेत्रका मतदाताहरूसँग मत माग्न उहाँले चिया बेच्ने नयाँ शैली अपनाउनुभएको हो। उम्मेदवार गिरीले राप्रपाको सम्पर्क कार्यालय पोखराको सिर्जनाचोकमा चियाको स्टल राखेर आफैँ चिया पकाएर मतदाताहरूलाई खुवाउनुभएको थियो। 

करिब तीन घण्टा उहाँले मतदाताहरूलाई आफैँले चिया पकाएर खुवाउँदै चुनावी एजेन्डाहरू पनि सुनाउनुभयो। उहाँले उपस्थित मतदाता र शुभचिन्तकहरूको सल्लाह सुझाव लिनुभयो। फरक शैलीको प्रचारप्रसारलाई मतदाताहरूले निकै रुचाएका थिए। ‘‘विशेषगरी चियागफको अवधारणामा मैले मतदाताहरूसँग भेट्ने एउटा बहानासँगै मेरो र पार्टीको एजेन्डा सुनाउन चाहेको थिएँ। त्योसँगै मतदाताहरूको चाहना के छ भन्ने कुरा बुझ्न पनि चाहेको थिएँ,’’ उम्मेदवार गिरीले बताउनुभयो। 

उहाँले हालसम्म करिब तीन सय जनालाई चिया खुवाइसक्नु भएको छ। चिया बनाएर मतदातालाई खुवाउनुलाई उहाँले फगत चुनावी प्रचारका लागि मात्र नभई एउटा सन्देश पनि भएको बताउनुभयो। ‘‘श्रमको सम्मान गर्दै युवा पुस्तालाई स्वरोजगार बनाउन आवश्यक छ भन्ने सन्देश मैले यो कार्यक्रममार्फत दिन खोजेको हुँ,’’ गिरीले भन्नुभयो, ‘‘त्योबाहेक जनप्रतिनिधिलाई जनताले सजिलै भेट्न र आफ्ना कुराहरू राख्न पाउनुपर्छ भन्ने सन्देश पनि मैले दिन खोजेको हुँ।’’ 

उहाँले अहिलेको अवस्थामा जनप्रतिनिधि र जनताको दूरी बढ्दै गएको बताउँदै चुनावमा मात्र जनतासँग निकटता देखाएर नाटक गर्ने जनप्रतिनिधि आफू कहिल्यै नहुने बताउनुभयो।