• १२ असोज २०८१, शनिबार

राष्ट्रपतिलाई निर्वाचन तयारीबारे जानकारी

blog

काठमाडौँ, कात्तिक १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले बिहीबार भेटवार्ता गर्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो ।

सो क्रममा राष्ट्रपति भण्डारीबाट निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्नुहुँदै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभएको थियो । निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास उहाँले व्यक्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । 

भेटमा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो ।