• १२ असोज २०८१, शनिबार

औद्योगिक जनशक्ति उत्पादनको थालनी

blog

रङ्गेली समाचारदाता

विराटनगर, कात्तिक १८ गते । मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रममा भर्ना आह्वान गरेको छ। सुनसरी–मोरङ औद्योगिक कोरिडोरअन्तर्गत मोरङको बूढीगङ्गा–४ मा रहेको विश्वविद्यालयले उद्योगमा आवश्यक जनशक्ति उत्पादन गर्ने योजनाअनुरूप स्कल अफ इन्जिनियरतर्फ बीई इन सिभिल र बीई इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रममा भर्ना आह्वान गरेको हो। 

विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलका अनुसार विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेस सञ्चालनमा छन्। त्यसमध्ये स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तहका कक्षाहरूमा भर्ना आह्वान गरिएको हो। पोखरेलका अनुसार चालू शैक्षिक वर्षका लागि बीई इन सिभिल इन्जिनियरिङमा ४८ जना र बीई इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ २४ जनाको भर्ना आह्वान गरिएको हो। 

“सुनसरी–मोरङ र हेटौँडा औद्योगिक कोरिडोरका उद्योगी तथा तिनका प्राविधिकसँग छलफल गरेरै पाठ्यक्रम तयार पारिएको छ,” उपकुलपति पोखरेलले भन्नुभयो, “नेपालका उद्योगमा आवश्यक पर्ने प्राविधिक जनशक्ति भारतबाट आयात गर्नुपर्ने अवस्था १० वर्षमा अन्त्य गर्ने उद्देश्य विश्वविद्यालयले लिइएको छ।” 

स्कुल अफ इन्जिनियरिङतर्फ पाँचवर्षे योजना बनाएर शैक्षिक सत्र २०८०/८१ बाट ब्याचलर इन आर्किटेक्चर र स्नातकोत्तर तहमा एमएससी इन स्ट्रक्चरल इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। विश्वविद्यालयको दोस्रो सभाले यी दुई कार्यक्रम सञ्चालनका लागि अनुमोदन गरिसकेको उपकुलपति पोखरेलले जानकारी दिनुभयो। 

विश्वविद्यालयको शैक्षिक कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति पोखरेलले शैक्षिक सत्र २०८३/८४ बाट ब्याचलर इन बायोमेडिकल इन्जिनियरिङ, बीई इन मेकानिकल वा अटोमोबाइल इन्जिनियरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्ट वा टनेल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा विद्यावारिधितर्फ सिभिल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। 

विश्वविद्यालयअन्तर्गतका तीनवटै स्कुल सञ्चालनमा आएपछि आगामी १० वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारिधितर्फ २८ वटा शैक्षिक विषयमा दुई हजार ८३१ विद्यार्थी लाभान्वित हुने लक्ष्य राखिएको छ। 

यो विश्वविद्यालय प्रदेश सरकारले पहिलो प्रादेशिक प्राविधिक विश्वविद्यालयका रूपमा २०७६ असोज १६ गतेदेखि सञ्चालन गरेको हो। शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न सक्ने जनशक्ति उत्पादनका लागि आवश्यक पाठ्यक्रम निर्धारण गरेर शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न थालिएको हो।