श्यामशंकर पाण्डे
लुम्बिनी, कत्तिक १७ गते । गृहमन्त्री बालकृष्ण खाणले देशलाई अग्रगमन लैजान र राष्ट्रियताको संरक्षणका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका खाणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
देशको यथोचित विकास र समृद्धिका लागि सबै राजनीतिक दलको साझा प्रयासको खाँचो रहेको उहाँले बताउनुभयो । “पञ्चायतविरुद्ध २०४६ मा र २०६२–६३ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र बाम मोर्चा मिल्दा सफल भएको हो” गृहमन्त्री खाणले भन्नुभयो ।
लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको चर्चा गर्दै उहाँले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरी नेपाली जनतालाई खुसीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको दाबी गर्नुभयो ।
‘व्यवस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच बर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्छ,’ उहाँले भन्नुभयो । युवाहरूमाथि मुलुकले ठूलो भरोसा राखेको बताउँदै युवाहरू ऊर्जाशील भएर उत्पादनमा जोडीनुुपर्नेमा जोड दिनुभयो ।