रामकृष्ण बोहरा
बागलुङ, साउन २४ गते । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटनस्थित प्रसिद्ध उत्तरगंगा ढोरबराह मन्दिरमा जनै पूर्णिमाको दिन दशनार्थीको घुईंचो लागेको छ । कुनै समय गुमनाम जस्तै ढोरपाटन उपत्यका सडक सञ्जालले जोडिएपछि जनैपूर्णिमामा उत्तरगंगा ढोरबराह मन्दिरमा पुग्ने श्रद्धालुहरुको संख्या वर्षेनी बढ्दै गएको छ ।
उत्तरगंगा ढोरबराहको पूजा गर्न जनै पूर्णिमाको अघिल्लो दिननै भक्तजनहरु ढोरपाटन उपत्यका पुगेका थिए । ढोरबराह मन्दिरमा भेँडाको बलि दिने प्रचलन छ । ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध ढोरबराह भगवानको पूजाअर्चना गरे मनोकामना पुरा हुने धार्मिक मान्यता रहेको छ । मनोकांक्षा पूरा गर्न ढोरबराहको नाममा भाकल गर्ने र भेँडाको बलि दिँदा फल प्राप्ती हुने विश्वास छ ।
उत्तरगंगा ढोरबराह मन्दिरमा जनैपूर्णिमा र चण्डी पूर्णिमामा विशेष पूजा अर्चनाका साथै बलि दिएर उत्तरगंगा ढोरबराहको पूजा गरिन्छ । ऋषितर्पणी अर्थात् जनै पूर्णिमामा उत्तरगंगा ढोरबराह मन्दिरमा ठुलो मेला समेत लाग्ने गर्छ । उत्तरगंगा ढोरबराहमा मेला भर्न छिमेकी जिल्लाहरु म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत मात्र नभई सडक सुविधाले देशभरबाट श्रद्धालुहरु आउने गरेको वडा नं. ९ का वडा अध्यक्ष खिमबहादुर घर्ति मगर बताउनुहुन्छ । घर्तिका अनुसार मन्दिरमा भेडाको पाठाको बलि चढेको र सयौं भक्तजनले मन्दिरमा पूजा गरेका छन् ।
उत्तरगंगा नदीको उद्गमस्थलमा ढोरबराहको थान रहेकोले ‘उत्तरगंगा ढोरबराह’ भन्ने गरिएको हो । यहाँ सातमुले, मुल, बराह मुल र अपुता मुल गरी तीन मुल छन् । सातमुले मुललाई उत्तरगंगा मुल पनि भनिन्छ । यसै मुलबाट बाइसधारा निस्केका छन् । बराह मुलमा रहेको बहरे गोरुलाई यहाँ बराह देवताको रुपमा पुज्ने गरिन्छ ।
ढोरपाटनमा ढकमक्क फूल फुलेको जनै पूर्णिमाको दिन बलि राजा प्रकट हुने भएकाले उहाँकै स्वागत गर्न उत्तरगंगा मेलामा लाग्ने गरेको लोककथन छ । यसै स्थानमा काग भुसुन्डी नाम गरेका ऋषिले कागको रुप धारण गरी बसेका थिए भन्ने धार्मिक मान्यता समेत रहेको छ । उत्तरबाहिनी नदीलाई पवित्र नदी मानिन्छ । यसले छोरा नहुने पुरुषले छोराको वर माग्ने, पृतिलाई तर्पन दिने र मृतकका कपडा बगाउने गरिन्छ । छोराको वर माग्नेले बाइस धारामा नुहाएर बहेरे गोरुलाई पुज्ने र २२ जोर धजा चढाउने गर्दछन् । उत्तरगंगा बराह देवतालाई मागेको वर पुरा भएपछि, ढोरवराह मन्दिरमा भेडाको साँढको बलि दिने प्रचलन रहेको छ ।
पर्यटकीय गन्तव्यसँगै धार्मिक रूपमा पनि परिचित ढोरपाटनमा उत्तरगंगा ढोरबराहसंगै रुद्रताल, छेन्टुङ गुम्बालगायतका मठमन्दिर छन् । तिब्बती शरणार्थीहरुको जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने उत्कृष्ट गन्तव्य पनि हो ।
ढोरपाटन उपत्यका पुग्ने अधिकांश पर्यटक घोडचडीमार्फत उपत्यकाको फन्को मार्ने र उपत्यकोको माथिल्लो भू-भाग ‘बुकीपाटन’सम्म पुग्ने गर्छन् । कुनै समय विदेशी शिकारी मात्रै पुग्ने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटक घुँईंचो लाग्छ ।