• १३ साउन २०८१, आइतबार

सिराहामा उम्मेदवारहरू घर दैलोमा व्यस्त

blog

जीबछ यादव 

लहान, कातिक १७ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि यतिबेला उम्मेदवारहरू घरदैलोमा व्यस्त रहेका छन् । छठपर्व सकिएपछि प्रचारप्रसारले तीव्र गति लिएको हो । 

सिराहाको चार वटै निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । 

सिराहा–१ मा नेपाली काँग्रेसका उम्मेदवार पदमनारायण चौधरी र नेकपा एमालेको उम्मेदवार राम शङ्कर यादवबीच कडा प्रतिस्पर्धा रहेको नागरिक अगुवा दिनेशकुमार यादवले बताउनुहुन्छ । 

स्वतन्त्र उम्मेदवार सरिता गिरी र जनमतका उम्मेदवार रहनुभएका यगल किशोर सादेले पनि उहाँहरूलाई चुनौती दिन सक्ने बताइएको छ । 

सिराहा–२ मा नेपाली काँग्रेसका नेतृ तथा पूर्व शिक्षामन्त्री चित्रलेखा यादव र पूर्व सूचना तथा सञ्चार मन्त्री रहनुभएका राजकिशोर यादवबीच देखिएको चुनावी प्रतिस्पर्धा तीव्र देखिएको छ । 

सिराहा–३ मा नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठ र नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साहबीचको कडा प्रतिस्पर्धा हुने शिक्षक सङ्घ सिराहाका सचिव राजकिशोर यादवको बुझाइ छ । 

यता, सिराहा –४ मा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री धर्मनाथप्रसाद साह र जनता समाजवादी पार्टीका उम्मेदवार डा. वीरेन्द्र महतोबीच प्रतिस्पर्धा हुने भएको छ । 

स्थानीय तहको निर्वाचन २०७९ को मतलाई आधार मान्दा सिराहा–१, २, ३ मा एमाले जसपा गठबन्धन र सिराहा–४ मा सत्तारुढ गठबन्धनको मत बढी देखिएको छ ।