• २८ फागुन २०८२, बिहिबार

कुवेतमा ‘सिभिल आइडी’ को म्याद थप

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन २८ गते । कुवेत सरकारले घर बिदामा गएका र युद्धका कारण समयमा फर्कन नपाउने नेपालीसहित आप्रवासी श्रमिकका लागि ‘सिभिल आइडी’ को म्याद थपेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार खाडीमा पछिल्लो समयमा विकसित परिस्थितिले तोकेको समय अवधिभित्र कुवेत फर्कन नसकेका आप्रवासी श्रमिकको हकमा ‘सिभिल आइडी’ को म्याद थप गर्ने निर्णय कुवेत सरकारले गरेको हो । 

यसअघि कुवेतमा कार्यरत आप्रवासी श्रमिक स्वदेश फर्केका सिभिल आइडीवाहकका हकमा विगतमा कम्पनीमा काम गर्नेका लागि छ महिना र घरेलु श्रमिकको हकमा चार महिनाभन्दा बढी कुवेतबाहिर बस्दा आइडी रद्द हुने व्यवस्था थियो । कुवेत सरकारको परिमार्जित व्यवस्था अनुसार सिभिल आइडी भएका घरेलु श्रमिक सात महिनाभित्र पुनः सोही रोजगारदातामा जान सक्ने भएका छन् भने कम्पनीमा कार्यरत श्रमिक नौ महिनाभित्र फर्कन सक्ने छन् । 

यसरी थपिएको अवधि २०२६ फेब्रुअरी २८ देखि लागु भएको जनाइएको छ । यसबाहेक अन्य सबै भिसावाहकको हकमा आफ्नो भिसाको अवधि समाप्त हुनुअघि रोजगारदातासँग सम्पर्क गरी भिसा नवीकरण गर्न दूतावासले अनुरोध गरको छ । 

यसै गरी कुवेत सरकारले कुवेतमा रहेका भ्रमण भिसावाहक सबैको भिसा एक महिनाका लागि थपेको छ । हाल कुवेतमा ७५ हजार घरेलु महिला श्रमिकसहित एक लाख ७५ हजार नेपाली रहेका छन् । 

अनलाइनमा झन्डै बयसट्ठी हजारको विवरण

पश्चिम एसियामा रहेका नेपाली नागरिकको अद्यावधिक विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन पोर्टलमा हालसम्म ६१ हजार ९८९ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमा रहेका यी नेपालीले दर्ता गराएका समस्यालाई प्राथमिकतासाथ अध्ययन गर्दै आवश्यकता अनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने छ । युद्ध सुरु भएयता हजारौँ नेपाली जाने र त्यहाँ रहेका नेपाली स्वदेश आउने प्रक्रियामा रोकिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भिसा सकिएर आउने नेपाली श्रमिकलाई त्यहाँ रहेका १० वटा दूतावासबाट आवश्यक सहजीकरण गरेको जानकारी दिनुभयो । 

पश्चिम एसिया क्षेत्रका अधिकांश स्थानमा हवाई उडान पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा फ्लाई युएई र एयर अरेबियाका सीमित उडान सञ्चालनमा छन् भने दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको छ ।