• १३ साउन २०८१, आइतबार

हरेक निर्वाचनको एजेण्डा चैनपुर ताक्लाकोट सडक

blog

शैलेन्द्र रोकाया 

बझाङ, कात्तिक १७ गते । सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने बझाङको गौरवको योजना सेती लोकमार्गको चैनपुर ताक्लाकोट सडक निर्माण राजनीतिक दलहरूले हरेक निर्वाचनमा चुनावी मुद्दा मात्र बनाउने गरेका छन् । सत्ता गठबन्धनसहितका दल र नेकपा (एमाले) ले पनि चैनपुर ताक्लाकोट सडकलाई पुनः चुनावी मुद्दा बनाएका छन् । 

सत्ता गठबन्धन दलहरू र एमालेले गरेका छुट्टाछुट्टै पत्रकार सम्मेलनमा चैनपुर ताक्लाकोट सडकको निर्माण कार्यलाई प्राथमिकता दिनेगरी एजेण्डामा राखेका छन् । हरेक चुनावको सम्मुखमा पेचिलो ढङ्गले राजनीतिक दलहरूको चुनावी मुद्दामा मात्र सीमित भएको चैनपुर ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बनाउने भन्दै निर्वाचनमा भोट माग्ने गरेको मतदाताको भनाइ छ ।

२०६४ को संविधान सभाको निर्वाचन पछाडिका सबै निर्वाचनमा सबै दलका नेताले भारतको राजधानी दिल्लीबाट चिनको स्वशासित क्षेत्र तिब्बत पुग्ने नेपालकै छोटो नाकाका रूपमा रहेको चैनपुर ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरी पाँच वर्षभित्र निर्माण कार्य सक्ने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीले बझाङ आउँदा चैनपुर ताक्लाकोट सडकको निर्माणका लागि सरकारी क्षेत्रबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

तत्कालीन माओवादी केन्द्रका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत चैनपुर ताक्लाकोट सडकलाई सरकारले प्राथमिकताका साथ निर्माण गर्ने आश्वासन दिनुभएको थियो । २०७० को निर्वाचनमा समेत विशेषगरी कांग्रेस, एमाले र माओवादीका उम्मेदवारहरूले चैनपुर ताक्लाकोट सडक निर्माणलाई प्राथमिकताका साथ बनाउने भन्दै चुनावी मुद्दा बनाएका थिए ।

२०७४ को निर्वाचनमा पनि दलका नेताहरूले सो प्रतिबद्धता जनाउनुभएको थियो । अहिले पनि चैनपुर ताक्लाकोट सडक निर्माणका लागि बझाङी जनताबीच वाचा गरी जानुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको प्राथमिकतामा चैनपुर ताक्लाकोट सडक नपर्नु दुर्भाग्य भएको स्थानीयको भनाइ छ । 

“निर्वाचन आउँदा मात्र चैनपुर ताक्लाकोट सडक निर्माणको कुरा आउँछ” स्थानीय जगदीश रोकायाले भन्नुभयो, “दलहरूलाई भोट सङ्कलनका लागि गतिलो औजार मात्र भएको छ” । कैलालीको बौनियाबाट सुरु भएको सेती लोकमार्ग डोटी–अछाम–बाजुरा हुँदै बझाङको चैनपुर भएर चीनको स्वशासित क्षेत्र ताक्लाकोट जोडिने नेपालको छोटो मार्ग हो । 

सेती लोकमार्गको उत्तरीखण्ड बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको सिमाना उरै भन्ज्याङसम्म ११७ किलोमिटर लम्बाइ भए पनि हालसम्म ३० किलोमिटर मात्रै ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।  

यो सडक सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोल्ने प्रमुख मार्ग भएकाले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गर्न पटक पटक यहाँको नागरिक समाजबाट पहल हुँदैआएको छ । सदरमुकाम चैनपुरबाट चीनको ताक्लाकोट ८३ किलोमिटर छ ।