• १३ पुस २०८१, शनिबार

नेपाली प्रबन्धरानी

blog

लक्ष्मीप्रसाद देवकोटा खुला झ्यालनेर बस्न मन पराउँथे । त्यहाँबाट ‘नीलो पहाडी पर्खालले परिवेष्ठित पूर्वपट्टिको दृश्य’ देख्न सकिन्थ्यो र मौसम राम्रो रहेका दिनहरूमा त दूरवर्ती हिमशिखरहरूको लहर पनि टड्कारै देखिन्थ्यो । यस्तो दृश्यावलोकनबाट आँखामा पट्याइ लागेको विचारशून्य क्षणमा उनी ‘आफ्ना सहकर्मी लेखकहरूको चेहराको’ अध्ययन गर्ने गर्दथे । उनको नजिकै संस्कृतका पण्डितहरू शम्भुप्रसाद ज्ञवाली बसेका हुन्थे । अब हाम्रो नयाँ पिँढीका मान्छेहरूलाई यस्ता लेखक–कविहरूको दाढीवाल विद्वता ती प्राचीन र अर्वाचीन महाविचारीहरूका भाव उपदेश’ दोहो¥याउन र बुझाउन समर्थ छन् भन्ने लक्ष्मीप्रसाद देवकोटा विचार गर्दथे ।

देवकोटाको नसिबमा भने कुनै राम्रो दायित्व थिएन । उनले त खालि अङ्ग्रेजीलाई नेपालीमा उल्था गर्ने काम पाएका थिए । हुन पनि त हो, यसको माध्यमबाट पछि नेपालीलाई सजिलैसित अङ्ग्रेजीमा ‘उल्था’ गर्न सकिन्थ्यो ।

तर देवकोटालाई यस्तो काम मन परेको थिएन । उनलाई त ‘उल्था’ भन्यो कि वाक्क नै लागेर आउँथ्यो । जे होस्, उनले तन्नेरी मगजहरूको निम्ति केही उत्कृष्ट कृतिहरूको उत्था अर्थात् रूपान्तर गरिदिएका थिए । यसका निम्ति उनले फ्रान्सिस बेकनका ‘नवीन ऐट्लान्टिडा’बाट शिक्षासम्बन्धी उद्धरणहरू, बेन जोनसनको ‘सेली र कलरिजको ‘कविता’ शीर्षकका निबन्धहरू, स्टेभेन्सनको खच्चरद्वारा ‘सेवान्ना–भूमिको यात्रा’बाट केही उद्धृतांशहरू चयन गरेका थिए । हुन त यस्तो अनुवाद गर्ने प्रक्रिया उनका लागि कुनै गाह्रो काम थिएन । उनी आङ्ग्ल भाषाको बन्धनबाट पङ्ख–फुका भइसकेका थिए । अब उनलाई “कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी लगाउँदैनन् । अर्काको भनाइ र शैलीमा उनी नात्थिन्नन् । सागरपारिका जटिल लवजका छायाभेद तौलेर उनी गह्रुकाउन्नन् । अब उनको ‘आफ्नै माकुराजाले मगज छ, जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाऊ आफ्नै यात्रामा” (२३, ४) ।

तैपनि ‘प्रसिद्ध प्रबन्धहरू’भित्रका सामग्रीहरूको उल्था गर्ने काम सुस्त सुस्त अगाडि बढिरहेको हुन्छ । त्यस ठाउँमा, जहाँ चिसो मेचमा ठन्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने भन्दथे, त्यहाँ विस्तार विस्तार देवकोटाको हृदय भने चिसिँदै गइरहेको थियो, अनुभूति मुर्दा भइरहेका थिए, काव्यात्मक प्रतिभा कड््याङ्ग्रिरहेको थियो । उनी त ‘भाषानुवाद परिषद्’ भनिने अड्डाको योजनाका विपरीत “स्वतन्त्रताको बगदादी कार्पेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको” कल्पना गर्दथे । उनी त चाहन्थे, “कौमुदीको चिच्याट, दर्शनको लाटोकोसेरो घोराइ, शास्त्रका मगजचक्करीहरूबाट एकछिन पन्छिन् र फुर्सद लिन, त्यस कोठाबाट सुटुक्क बाहिर निस्केर स्वच्छ हावामा सास फेर्न र त्यस धूर्त बदमास ठिटोको जस्तो सुखानुभूति गर्न जो सडकमा हिँड्दा कहिले कहिले ढुङ्गा हान्छ, कतै कतै आनन्दले फुलेर हेर्दछ ।” 

रचना गर्नु नै जसको कार्य छ, त्यस व्यक्तिलाई कल्पनाको उडानमा भन्दा अरू कुन कुरामा आनन्द होला र ? बस ! गफ गर ! अरूले नसुनून्, एक्लै छौ । साथी भए कुरा काट्ने थियो । यहाँ त एक अदृश्य पाठक छ, जो सबै सुनिदिन्छ, जो चाख लिन्छ, जो ‘हाँ’ मा ‘हाँ’ गर्दछ, ‘होइन’ मा ‘होइन’ । (२३, ४) ।

तर नेपालीहरूलाई अझै निबन्ध भनेको के हो भन्ने राम्रो थाहा छैन । यस किसिमको रचना नेपालीमा उति प्रचलित नभएकाले नै उनले यसतर्फ “हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न” गर्न खोजेका हुन् । सम्भवतः त्रिपुण्ड्रक चन्दनवाला प्राचीनता–प्रेमी गम्भीर महानुभाव बेकोटको पछौरे पोसाकमा बाक्ला आँखीभौँ गाँठो पारेर प्रश्न गर्नेछन् ः “तब के गफ र गफास्टक नै साहित्य हो त ? यी आजकलका लेखक असल असल मगरका नास्ति जुँगा न दाढी, च्यातेर फ्याकिदेऊ न यी खोस्टाहरू ! गफ भनेको ता सुन्ने पो हुन्छ । खै यसको साहित्यिक लक्षण ? खै औपदेशिकता र सकारात्मक पदार्थ ? न देवाय न धर्माय ? यसै बोक्रे खोस्टे छन् आजकल लेखक भनाउँदा ?” (२३, ५–६) ।

पहिले पहिलेका लेखकहरू र खासगरी नाटककारहरूलाई उति गाह्रो अवश्य थिएन । नाटककार र दर्शकहरूको बीचमा सूत्रधारले मध्यस्थता गर्दथ्यो । उसले प्रस्तावनामा नै मङ्गलाचरण र नन्दी पाठ गर्दथ्यो र यसरी नाटकको सफलतामा अगाडिबाटै आरध्यदेवको आशीर्वाद प्राप्त गरिन्थ्यो । तर “आजकल नाटकमा सूत्रधार नटीको नाक काटिएको युगमा” प्राचीन परम्पराका ‘सूत्रधारहरू’ नेपाली साहित्यको निम्ति यस्तो बिल्कुलै नयाँ विधाको परिचय प्रस्तुत गर्न राजी पनि त हुनेछैनन् । त्यसैले स्वयं प्रबन्धलाई नै यो दायित्व सुम्पिदिनु कसो होला ? प्रबन्धले नै विनम्रतापूर्वक सम्पूर्ण पाठकहरूलाई सम्बोधन गर्दै मुस्कुराहटका साथ भन्ने छ ः “महाशय ! या पण्डितजी ! म त होस्न, खेल्न र रमाउन मात्र जन्मेको, म एउटा ठट्यौलो रसिलो साथी हुँ । तपाईंको शास्त्र गहु्रँगो मगज भारी–झोक्राइ र रौँ चिर्ने बहससँग मेरो गोरु बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्दछु लहडी तवरसँग र त्यससँग खेल्दछु, म त्यसका कन्सिरीका रौँ तताउन्नँ, म त्यसको सिङ पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्दिनँ । म गहिरो छैन, जुन निस्सासिँदो गहिराइमा तपाईंहरू जीवनको सास रोकी डुबुल्की मार्नुहुन्छ, त्यसदेखिन् मलाई प्राकृतिक त्रास छ म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म व्याख्यान होइन, न हुँ पाण्डित्यदर्शन । कहिले कहिले एउटा चुरोट च्यापेर टेबिलअगाडि बसेर गफ गर्ने रमाइलो साथी मात्र हुँ” (२३, ५) ।

देवकोटाले आफ्नो कल्पनालाई स्वच्छन्दतापूर्वक उड्न दिए । उनले आफ्नो हृदयको आदेशअनुसार विश्वप्रतिको आफ्नो धारणाको उद्घाटन गर्दै सरलता र सरसतापूर्वक लेखे तर उनको कलमबाट पहिले विचार गरिएजस्ता रोचक र रमाइला निबन्धहरू चाहिँ निस्केनन्

‘कुम्भकर्ण’जस्तो विषादपूर्ण निबन्धपछि ‘कला र जीवन’ जस्तो दार्शनिक विचारहरूद्वारा टनाटन भरिएको लामो निबन्ध लेखियो । ‘नेपाली गुन्डो’, ‘हाइ ! हाइ ! अङ्ग्रेजी’, ‘गधा बुद्धिमान् कि गुरु ?’ नामक निबन्धहरूमा आङ्ल ‘संस्कृति’को जगजगीप्रति व्ययको साथै त्यसबाट उत्पन्न हुन सक्ने खतराप्रति त्रास प्रकट गरिएको छ भने ‘शिक्षा’ शीर्षकको निबन्धमा चाहिँ विषादपूर्ण स्वरसमेत सुनिन्छ ।

परन्तु देवकोटाले जुनसुकै विषयमा कलम चलाए पनि उनी आफ्नो कवितात्मक पारालाई त्याग्दैनन् । साहित्यमा नवीनताप्रति देशवासीहरूको धारणाबारे ‘श्रीगणेशाय नमः’ निबन्धमा जस्तो कविको तीक्ष्ण लेखाइमा होस् अथवा आफ्नो देश र जनताप्रति गद्यगीतस्वरूप ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा होस् अथवा ‘तिमी भलाद्मी बन्न चाहन्छौ भने सीधासाधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर छाँटकाँट गरिमाग ! दुई चार रुपियाँ बढाइदेऊ, तब तिमी कुदेको पानीदार हीरा बन्दछौ’ भन्ने व्यङ्ग्यात्मक सल्लाह दिँदै सूचीकार र मारवाडीले बिक्री गरिरहेको ‘भलादमीपन’ उपर नै उपहास गरिएको निबन्ध ‘भलादमी’मा किन नहोस्, जताततै लक्ष्मीप्रसाद देवकोटा कवि नै रहेका छन् । साधारणभन्दा साधारण कुरा पनि देवकोटाको कलमबाट निस्केपछि कवितात्मक विम्बहरूद्वारा प्रकाशमान् हुन्छ । जतिसुकै कठोर गद्यात्मक विषयवस्तुमा समेत अधिकांश ठाउँमा स्पष्टता कवितात्मक कल्पना प्राचुर्य र कवित्वशक्ति झल्किरहेको पाइन्छ ।

नेपाल !

सुन्दर, शान्त, विशाल !

मैले आफैँले एक दिन लेखेथेँ, ‘विशाल’को भावना कसरी आयो म भन्न सक्तिनँ ।

भूमण्डलको नक्सा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ ! यो सानो बूँद महासागरमा त्यसै बिलाएजस्तो देखिन्छ, यो सानो टुक्का हिमालय पहाडको रेखामा सानो कोठाजस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो राजधानीजस्तो पृथ्वीको प्यारो टुक्रा आफूलाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा पसिना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गङ्गातीर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ । आधुनिकतामा जिज्ञासा राखे पनि यो प्राचीनको पुजारी हो । आजसँग लुकामारी खेलेर, हिजोका सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, छुट्टा छ तर आफैँ विश्व छ, तर दूर छ दूरताको दिव्य जादू । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन् किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ ।

हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ, मुटुको केन्द्रको सानो झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरविन्दु नै होस् तर ॐकारको बिन्दु झैँ यही परमानन्द घनीभूत छ...।”  (२३, ६९–७०) ।

कहिलेकाहीँ लक्ष्मीप्रसाद देवकोटाको मस्तिष्क र हृदयमा कविताको छाल यसरी उर्लेर आउँछ कि उनी आफ्नो पाइतालामुनि गद्यात्मक ढुङ्गामाटो नै नभएको जस्तो अनुभव गर्दछन् । यस्तो बेलामा लेखिएका निबन्धहरू नेपाली साहित्यका निम्ति त के, जुनसुकै साहित्यको निम्ति पनि नौलो किसिमका गद्यमा लेखिएका कविता बन्न पुग्दछन् ।

उदाहरणस्वरूप ‘लेख्ने बानी’ भन्ने निबन्धलाई नै लिन सकिन्छ । यो त्यस कविको एक प्रकारको स्वीकारोक्ति हो, जो साहित्यमा होस् अथवा त्यसका स्रष्टामा, जहाँ पनि सचेत रूपले शृङ्गार–पटार गर्ने कुराको कट्टर विरोधी हुन्छ ।

“मलाई गरिब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थँे र अभावको उपयोगिता र दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवालाई सपनाका दुनियाँमा डुबाउँथेँ ।

तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा म पापी हुनामा के बेफाइदा होला र ! कलिको राज्यमा बेइमानी  र छक्कापञ्जाहरू पछि लाग्नु के नोक्सान होला ? खानु, पिउनु, मोज उडाउनाको मौका पाउँदा पाउँदैको हाड घोट्ने आत्मध्येयी एक्लोपनामा सायद फोटो मृगतृष्णासिवाय केही हुन सक्ला र ? सत्यभन्दा झुटको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा झुटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होवैन ? असत्यद्वारा अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन् र उनको जीवन सफल हुँदो छ । म किन सत्यको सती जाऊँ ? जब सत्यलाई दुनियाँ आगो हुन्छ र असत्यलाई पानी ?

तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन् । मैले झुटो बोल्न खोजेँ भने त्यसै ओठ लर्बरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा टप्किहाल्दथ्यो । मैले छकाउन खोजेँ भने दुई दिनको लहडबाजीपछि दुई वर्ष लामा तरङ्गहरू निकाल्दथेँ । आत्माले डाँट्दथ्यो र भित्रभित्र म लज्जित हुन्थेँ । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाड घोटाइमा लाग्दथिन् तर सत्यको मुहार देख्नासाथ यमकाँतरजस्ता भएर इन्द्रियहरू शिथिलाउँथे ।

यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल खोजसिवाय ईश्वरले केही अरू दिएको बुझिन्न यो विशाल विश्वमा उसलाई ठक्कर खानु, च्याँठ पाउनु र एकोहोरो अन्वेषणमा लागिरहनुसिवाय केही हुँदैन । यद्यपि शरीरका नसा जल्दै टुट्दै शरीर नै चिता बनोस् ।

तर मानव आत्माको धुन अनौठो छ । असत्यबाट शान्ति पाउँदैन र अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ । ईश्वरको इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस् तापनि आत्माले आफ्नो ढिपी छोड्दैन र सत्य खोज्दा खोज्दै भुलभुलैया पसे पनि उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौँ अँधेरा कोटरीका उल्झनमा र ठक्करमा च्याठिँदै र सेलाउँदै हिँड्नै पर्छ । यसैकारण विचारको ठुँगाइ थाहा हुने पुरुषहरू पनि विचारकै खेतीमा लाग्छन् र विलासका सामग्रीहरू पन्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्कष्ट दिन्छन् । म एकजनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा नुनचुकहरू, अभावको ऐँडीले नुनतेल खोज्नलाई खुट्टा दौडाउनाको काम प्रशस्त छँदै थियो र हजारौँ कुराका कमीहरू, तर यो काँढा र दर्शनको दुनियाँमा मेरो आत्मालाई विचारको क्षेत्रमा पसेर तकलिफ पाउन किन मन लाग्यो म भन्न सक्दिनँ । उसलाई अरू मनुष्यको स्वभाव कर्म र सुखदुःख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ छैन । संसारको स्वभाव यसका दर्शन र आनन्द, यसका वियोग संयोग, उल्झन र गडबड, सत्यको अतीत र भविष्य, यसका वर्तमान समस्याहरू र तिनको हल इत्यादिमा चाख लिएर अनन्त दुःखकाण्डको अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म सक्दिनँ । तर वास्तविक कुरा त्यही छँदै छ– यो आत्मा खान चाहन्न, सुत्न चाहन्न, पढ्न चाहन्न तर सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना उठाउन चाहन्छ ।

प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूको साहित्यप्रेमलाई बुझाउन चाहन्छन् तर जस्तो विज्ञानले वस्तुको पनि सतहसम्म मात्र छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोविज्ञान पनि बोक्रे बोधले सन्तोष लिन्छ । मनुष्यका सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन, ननिस्किएला तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ मद्दत गर्नेमा नाम लिइन सक्दछन् । खालि प्रख्यातिको प्रेमले मानवआत्मालाई मृत्युको पारसम्म पुयाउन सक्दैन, न त ती जीवनका मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामथ्र्य दिन्छन्– जसको विजय एकाध्येयीको सफलता हो” (२३, २६–२८) ।

सबैको अगाडि आफ्नो अन्तरात्माको दैलो खोलेर महाकवि चरमोत्कर्षसम्म पुग्दछन् र यस उमङ्गको बाढीले उनको स्वीकारोक्तिलाई डुबाउनै आँटेको जस्तो प्रतीत हुन्छ । किन्तु रूप र शैलीमा अचानक मोड आउँछ स्वेच्छाको विपरीत आफ्नै आत्मप्रशंसाजस्तो देखिने आफ्ना शब्दहरूका लागि र वास्तविक सच्चाइमा बाधा हाल्ने अहंपनाका लागि सङ्कोचको भावना अनुभव भएझैँ गरी लक्ष्मीप्रसाद तुरुन्त हलुका किसिमको व्यङ्ग्यात्मक कुराकानीको स्तरमा यसरी उत्रिहाल्दछन् ः

“तर मलाई अहिले लेख्दालेख्दै हाँसो उठ्छ, किनकि यत्तिको कुरा लेख्दा मैले कति छद्मवेशले चलाकी गरिसकेहुँला, म मानौँ महात्मा जस्तो भएर आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । मजस्ता छट्टु, फटाहा, कथा कथ्ने, सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूका रचनामा 

सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला” (२३, २८) ।

हरेकपल्ट यही कुरा दोहोरिएको पाइन्छ । आफ्नो हृदयका सारा दुःखदर्द खुलस्त पोखेकोमा कतैबाट पनि सहानुभूति नदेखाइने र अरू कसैकसैको तर्फबाट त संशयात्मक उपहाससमेत व्यक्त गरिने अनुभव कविलाई हुनेवित्तिकै उनी सच्चा मर्मस्पर्शी स्वरलाई लगत्तै हलुका हँसीठट्टामा बदलिदिन्छन्, मानौँ उनी भनिरहेका होऊन् ः “तपाईंको निम्ति अबोधगम्य मेरो स्वीकारोक्तिउपर तपाईं हाँस्न चाहनुहुन्छ, हैन ? अहँ ! हुँदैन ! यो काम पनि मलाई नै गर्ने अनुमति मिलोस् ! वास्तवमा यो नै बढी उपयुक्त होला !” 

साभार : नेपालका महाकविको कथाबाट

रुसी भाषाबाट अनुवाद कृष्णप्रकाश श्रेष्ठ

त्रिमूर्ति निकेतन