• १६ भदौ २०८१, आइतबार

गठबन्धनले सार्वजनिक ग-यो प्रतिबद्धतापत्र

blog

भरतपुर समाचारदाता

चितवन, कात्तिक १७ गते । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको लोकतान्त्रिक–वाम गठबन्धनले बुधबार चितवन निर्वाचन क्षेत्र नं. ३ को साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी जारी गरिएको प्रतिबद्धतापत्रमा विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ। कांग्रेस र माओवादी केन्द्रले केन्द्रमा जारी गरेको प्रतिबद्धतापत्रको झझल्को दिने विकासे अभियानलाई प्रतिबद्धतापत्रमा प्राथमिकतामा राख्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन भनिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सो निर्वाचन क्षेत्रमा सुरु गर्नुभएको विकासका अभियानलाई पूर्णता दिनेलगायत प्रमुख एजेन्डाहरू प्रतिबद्धतापत्रमा समावेश गरिएका छन्।

प्रतिबद्धतापत्रमा पूर्व–पश्चिम रेल यातायातको केन्द्र तथा चीन र भारतका बीच व्यापारिक कोरिडोरका रूपमा विकास गरी आर्थिक व्यापारिक केन्द्र निर्माण गर्न सकिने सम्भावना रहेको उल्लेख छ। महत्त्वाकाङ्क्षी रहेको उक्त प्रतिबद्धतापत्रमा चितवन राष्ट्रिय निकुञ्ज र यससँग जोडिएको वन क्षेत्रलाई समेत समेटेर विश्वकै आकर्षक प्राकृतिक चिडियाखानाको विकास गर्न सकिने उल्लेख छ। 

कृषिलाई समृद्धिमा जोड्ने विषय, मेडिकल युनिभर्सिटी र पर्यटनसमेतका क्षेत्रमा चितवनलाई प्रमुख गन्तव्य बनाउन सकिने सम्भावनालाई सार्थकतामा परिणत गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ। यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)ले कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गरेको छ र राप्रपाबाट विक्रम पाण्डे उम्मेदवार रहनुभएको छ।