• १६ भदौ २०८१, आइतबार

मतदातालाई भोट हाल्न सिकाउँदै उम्मेदवार

blog

फाइल तस्बिर ।

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक १७ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि चुनावमा होमिएका विभिन्न दलका उम्मेदवार चुनाव प्रचारमा केन्द्रित भएका छन्। अहिले उनीहरू ग्रामीण भेगमा घरदैलो र मतदातालाई भेटघाट गर्दै मतदान गर्दा बदर नहुने गरी मतदान गर्नसमेत सिकाइरहेका छन्। 

प्रतिनिधि सभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा उम्मेदवारले घरदैलोमा पुगेर मतदातालाई मत माग्नुका साथै मतदान कसरी गर्ने भन्ने विषयमा सिकाउन थालेका हुन्। 

नेकपा (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहितको टोलीले बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र बस्तीमा पुगेर मतदातालाई मत बदर नहुने तरिकाले मतदान गर्न सिकाएको छ। 

“विगतमा भएका निर्वाचनमा मत सङ्केत गर्ने क्रममा त्रुटि हुँदा धेरै मत बदर भएको अवस्थालाई मध्यनजर गर्दै त्यो अवस्थाबाट बाहिर निस्कनुपर्छ भन्ने सोचका साथ मतदाता शिक्षामा समेत केन्द्रित भएका छौँ,” उम्मेदवार श्रेष्ठले भन्नुभयो। उम्मेदवारहरूले मतदाता भेटघाटमा पुग्दा मत मात्रै माग्छन् भन्ने होइन मत सङ्केत गर्न र बदर मत कम गराउन पनि प्रयास हुने तरिकाले भोट माग्नुका साथै मतदान गर्ने तरिका सिकाएको बताएका छन्। 

यसै गरी वाम–लोकतान्त्रिक गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधि सभाका उम्मेदवार खमबहादुर गर्बुजा (खम्वीर)सहितको टोलीले पनि बुधबार मङ्गला गाउँपालिका–५, अर्मनमा पुगेर घरदैलो र मतदाता भेटघाटसँगै मतदाता शिक्षामा केन्द्रित भएको बताउनुभयो। मत माग्ने, भेटघाट गर्ने र सही तरिकाले मत सङ्केत गर्नका लागि पनि सिकाउन आफूहरू केन्द्रित भएको उहाँको भनाइ छ। 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत म्याग्दी जिल्लामा मुख्य प्रतिस्पर्धामा गठबन्धन दलका तर्फबाट प्रतिनिधि सभामा कांग्रेसका खमबहादुर गर्बुजा र एमालेका हरिकृष्ण श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

त्यस्तै प्रदेश सभा (क)मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हरि भण्डारी र एमालेका देवेन्द्रबहादुर कटुवाल, प्रदेश सभा (ख)मा गठबन्धनबाट माओवादीका रेशम जुगजाली र एमालेका यामबहादुर गर्बुजा चुनावी मैदानमा हुनुहुन्छ। 

प्रतिनिधि सभामा राप्रपाका जगतप्रसाद गौचन र प्रदेश (क)मा राप्रपाकै प्रविन शाहीले पनि सन्तोषजनक मत प्राप्त गर्ने अपेक्षा गरिएको राप्रपा नेपालको प्रदेश सभा (ख)का उम्मेदवार झलकबहादुर बानियाँले बताउनुभयो।