• १३ साउन २०८१, आइतबार

धनगढीमा कार्यकर्तासँग सभापति देउवा

प्रधानमन्त्री देउवा बिहीबारदेखि चार दिन डडेल्धुरामा

blog

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर साैजन्य : उद्धव बोगटी

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, कात्तिक १६ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी आइपुग्नुभएको छ । धनगढी आएलगत्तै उहाँ कार्यकर्तासँगको भेटमा व्यस्त हुनुभएको छ ।  

चुनावी प्रचार–प्रसारका लागि बुधबार अपरान्ह हेलिकोप्टरमार्फत धनगढी पुग्नुभएका प्रधानमन्त्री देउवालाई नेता, कार्यकर्ताहरुले धनगढीस्थित उहाँकै निवासमा भेट गर्नुभएको हो । सो क्रममा उहाँले चुनावको तयारी अवस्था, सुरक्षा अवस्था लगायत बारेमा जानकारी लिनुभएको कांग्रेस कैलालीले जनाएको छ ।  

भेटको क्रममा प्रधानमन्त्री देउवाले गठबन्धनलाई जिताउन प्रदेशमा भएको तयारी बारेमा चासो राख्नुभएको कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहले जानकारी दिनुभयो । गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न आग्रहसमेत गर्नुभएको उहाँले बताउनुभयो । सो क्रममा महामन्त्री शाहले चुनावका सन्दर्भमा भइरहेका गतिविधि र तयारीका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको थियो । 

भेटको क्रममा प्रधानमन्त्री देउवाले गठबन्धनलाई जिताउन प्रदेशमा भएको तयारी बारेमा चासो राख्नुभएको कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहले जानकारी दिनुभयो ।

यस्तै, कांग्रेस केन्द्रीय सदस्यद्वय नृपबहादुर वड, ईश्वरी न्यौपाने, कैलालीका सभापति नारायणदत्त भट्ट र जिल्ला सचिव केशव मिश्रले पनि प्रधानमन्त्रीसँग भेटघाट गर्नुभयो ।  भेटको क्रममा कैलाली जिल्ला सभापति भट्टले जिल्लामा गठबन्धनलाई जिताउन भइरहेका गतिविधि र तयारीका बारेमा देउवालाई जानकारी गराउनुभयो ।  

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्त, क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजनम चौधरीले पनि प्रधानमन्त्री देउवासँग भेट गर्नुभयो ।  

यसैगरी, कैलाली, कञ्चनपुर र डोटी कांग्रेसका नेता, कार्यकर्ता, प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ । जिल्लाका नेताहरूले उहाँलाई भेटघाट गर्दै आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि जिल्लामा भइरहेका तयारीका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनु भएको छ । 

यसैगरी, सुरक्षा निकायका प्रमुखहरूले पनि प्रधानमन्त्रीसँग भेट गर्नुभयो । भेटको क्रममा प्रधानमन्त्री देउवाले निर्वाचनका सन्दर्भमा भइरहेको सुरक्षा तयारीका बारेमा जानकारी लिनुभयो ।  

यस्तै, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्रवीर चन्द, पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टलगायतका नागरिक समाजका अगुवाहरूले पनि प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणापछि पहिलो पटक गृह प्रदेश पुग्नुभएका प्रधानमन्त्री देउवा भोलि बिहीबार चुनाव प्रचारप्रसारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको छ । त्यहाँ चार दिनसम्म प्रचारप्रसार गर्ने कार्यक्रम तय भएको कांग्रेस कैलालीले जनाएको छ । 

डडेल्धुराबाट प्रधानमन्त्री देउवा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा उहाँकी धर्मपत्नी डा. आरजु राणा देउवाले वारेसनामार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराउनु भएको थियो । 

प्रधानमन्त्री देउवा प्रचारप्रसारका लागि आफ्नो गृह जिल्लातर्फ बिहीबार बिहान ११ बजेतिर प्रस्थान गर्नु हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिनुभयो ।