• १६ भदौ २०८१, आइतबार

‘राष्ट्रिय एकताको सन्देश दिन गोरखा पुगेँ’

गोरखाबाट जिताएर संसारलाई देखाउनुपर्छ : अध्यक्ष दाहाल

blog

बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : दाहालको निजी सचिवालय

काठमाडौं, कात्तिक १६ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको छ। 

बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्नुहुँदै अध्यक्ष दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको हो। 

उहाँले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताउनुभयो। उहाँले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भूमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता र कार्यकर्तालाई निर्देशन दिनुभयो। एक-एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्‍याउन ध्यान दिन उहाँको आग्रह छ। उहाँले गोरखाबाट माओवादी देश र दुनियाँमा देखिनुपर्ने बताउनुभएको छ।

उहाँले भन्नुभयो, ‘‘जितिहालिन्छ भन्नुभयो भने हाम्रो लागि आत्मघाती कुरा अरू हुँदैन। जितिहालिन्छ भन्ने त सोच्नै हुँदैन। ब्याटलमा जाने, यो ब्याटल नै हो। बुलेटको माध्यमबाट ब्याटल नै लड्ने हो हामीले’’, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘गोरखाबाट संसारमा माओवादी देखियोस्। अरू ठाउँमा कति जित्छौँ तपाईँहरूले धेरै टेन्सन नलिनुस्। त्यो टेन्सन मैले लिएको छु। तपाईँहरू गोरखाबाट संसारलाई माओवादी देखाइदिने यो सङ्कल्प सबैले लिनुपर्‍यो। साझा सङ्कल्प। यो असम्भव बिल्कुलै छैन, सम्भव छ। रेकर्ड बन्छ। गोरखा संसारमा फेरि नयाँ ढङ्गले देखिन्छ।’

अध्यक्ष दाहालले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गर्नुभयो। उहाँले आफू गोरखामा चुनाव लड्न आउनु गोरखावासीका लागि चुनौती भएको बताउनुभयो। 

आफू कहाँ जान्छु र बस्छु भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै दाहालले यो कुरा गोरखावासीका लागि चुनौती भएको बताउनुभएको हो। अध्यक्ष दाहालले मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको विषय उल्लेख गर्दै आफ्नो बाजा बजाउने योजना नभएको प्रष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो, ‘प्रचण्ड आउनु भनेको त अवसर भन्नुभयो धेरैले यहाँ। अवसर मात्रै होइन, चुनौती पनि हो। मलाई अस्ति थाहा नै थिएन, बाजा बज्छ भन्ने। नोमिनेशनको दिन पञ्चे बाजा आउँछ भन्ने। जाँदा तलैबाट देखेँ मैले जनता स्वतःस्फूर्त खुसी भएर आए। त्यो मेरो योजना पनि होइन। मेरो निर्णय पनि होइन। तर निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो मैले स्पष्टीकरण दिएँ।’’

अध्यक्ष दाहालले मनोनयन दर्ता गर्न जाँदा २५ जना मात्रै गएको जवाफ दिए पनि यहाँ माइक्रोस्केप लगाएर हेरेको बताउनुभयो। ‘आज आएको छ प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो छैन, त्यो बाजा कहाँबाट आएको हो ? अनुसन्धान गर भनेर निर्देशन दिएको छ। माइक्रोस्कोप लगाएर हेरेका छन्। प्रचण्ड कता कता जान्छ के के गर्छ। कहाँ बस्छ ? यो तपाईँहरूको लागि चुनौती भएन त ! यसको रक्षा त हामी सबैले मिलेर गर्नुपर्‍यो। सुरक्षा चुनौती पनि हुनसक्छ। नेतृत्वको रक्षा गर्ने चुनौती तपाईंहरुलाई थपियो’’, उहाँले थप्नुभयो।

अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको प्रष्ट पार्नुभएको छ।