• ७ पुस २०८१, आइतबार

दलका घोषणापत्रमा खेलकुद

पूर्वाधार निर्माण र खेलाडीको भविष्यप्रति दलको चासो

blog

घोषणापत्र सार्वजनिक गर्नुहुँदै कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौं, कात्तिक १६ गते। मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा भाग लिएका राजनीतिक दल विभिन्न एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन्। 

निर्वाचन कार्यक्रम यसअघि पनि थुप्रै पटक सम्पन्न भइसकेका छन्। तर, घोषणा पत्रमा समावेश भएजस्तै कार्यान्वयनमा भने आउन सकेका छैनन्। आगामी निर्वाचनमा राजनीतिक दलले समावेश गरेका खेलकुदका एजेण्डाले सम्बोधन पाउन सक्लान त ? प्रजातान्त्रिक अभ्यासको पाटो निर्वाचनमा देश समाहित हुँदै गर्दा खेलकुदलाई कसरी सम्बोधन गरिँदै छ भनेर खेलकुदसँग जोडिएका गतिविधि मूल्याङ्कन गर्न थालेका छन्। खेल र खेलाडीको प्रदर्शनबाट पनि देशले विश्वमा परिचय पाउने गरेको उदाहरण थुप्रै छन्। 

खेलाडीले खेलबाट विश्वमा नाम कमाउँदा जोडिने विषय देश नै हो। देशको परिचय राजनीतिसँग जोडिँदै आएको छ। प्रजातान्त्रिक अभ्यासको पाटो निर्वाचनमा देश लागिरहेका बेला खेलकुदलाई कसरी सम्बोधन गरिँदै छ भनेर मूल्याङ्कन हुन थालेको छ। दलले धमाधम घोषणा पत्रमा मतदाता समक्ष जाने एजेण्डा बनाइरहँदा खेलकुदका एजेण्डाले पनि स्थान पाएका छन्। सार्वजनिक गरिएका घोषणा पत्रमा देशलाई विकासतर्फ डोर्‍याउने, आर्थिक समुन्नति र सुशासनका नारा सबैले व्यक्त गरेका छन्। खेलकुद अभिन्न पाटो भन्दै खेल क्षेत्रको विकास, खेलसँग सम्बन्धित भौतिक पूर्वाधार निमार्ण र खेलाडीको हितको विषयमा पनि घोषणा पत्रमा बुँदा उल्लेख गरिएको छ।

नेपाली कांग्रेस : प्राथमिकतामा खेल पूर्वाधार निर्माण

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले क्षेत्रगत प्राथमिकतामा समावेश गरेर कला, संस्कृति र खेलकुद विकासको एजेन्डालाई अगाडि सारेको छ। नेपालीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय गरिमा उच्च हुने सिद्धान्तसहित आगामी निर्वाचनमा होमिन लागेको कांग्रेसले खेल पूर्वाधार निर्माण तथा उचित प्रवर्द्धन गर्ने प्रतिबद्धता अगाडि सारेको छ। व्यवस्थापकीय संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरेर खेलाडीको भविष्य सुनिश्चित गर्दै खेल प्रशिक्षक, खेल पदाधिकारी, खेलकर्मी र खेल पत्रकारितालाई प्राथमिकता राख्ने उल्लेख गरेको छ।

नेकपा (एमाले) : भौतिक पूर्वाधारमा जोड

सुखी नेपाली समृद्ध नेपालको नारा अङ्गालेको नेकपा (एमाले)ले खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारलाई नै जोड दिएको छ। एमालेले युवाको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लब भवनमा जोड दिएर खेल क्षेत्रलाई अगाडि बढाउने वाचा घोषणापत्रमार्फत गरेको छ। नेपाली खेलाडीले एसियाली र ओलम्पिक खेलकुदमा पदक ल्याउने गरी खेलाडीको क्षमता विकासका लागि तालिम र प्रशिक्षणको व्यवस्था गर्ने जनाएको छ। यस्तै खेलाडीको सम्मान र वृद्धि विकासका कार्यक्रमसहित जीवनवृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने, सम्भावना बोकेका खेलाडीको खोजी गर्ने र धेरै भन्दा धेरै प्रतियोगितामा खेलाडीलाई समावेश गराएर अनुभव बटुल्ने अवसर दिने योजना ल्याएको छ।

माओवादी केन्द्र : खेलाडीलाई आर्थिक सहयोग

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले युवा तथा खेलकुदलाई सँगै समेटेको छ। १३ वटा बुँदा उल्लेख गरिएको शीर्षक अन्तर्गत खेलकुद क्षेत्र एक बुँदामा समेटेको छ। माओवादीले खेलकुद क्षेत्रमा संलग्न युवाको जीविकोपार्जनका लागि मापदण्ड बनाउनुपर्नेमा जोड दिएको छ। आवश्यक आर्थिक सहयोगको प्रबन्ध मिलाउने र खेलकुद परिषद्को क्षमता विकासमार्फत खेलकुद क्षेत्रको विकास गर्ने योजना अगाडि सारेको छ। ठोस योजना घोषणापत्रमा उल्लेख गर्न नसकिएको प्रस्ट देखिन्छ। 

एकीकृत समाजवादी : खेलकुदका लागि आवासीय विद्यालय 

सत्ता गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी) ले स्वस्थ जीवनको आधार नै खेलकुद पूर्वाधार भन्दै खेल संरचनामा जोड दिएको छ। नेपाली खेलकुदमा पूर्वाधार कमजोर भएको अवस्थालाई समेट्दै पूर्वाधारलाई जोड दिएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रिय पहिचानका लागि खेलकुद भन्ने नारा घोषणा पत्रमा उल्लेख गरेको छ। साथै खेलाडीलाई प्रोत्साहित गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलमा पदक प्राप्त गर्नेलाई पदको स्तरअनुसार निश्चित रकम पुरस्कारसहित कदरपत्रबाट सम्मान गर्ने जनाएको छ। हरेक पालिकामा खेलकुद गतिविधिसहित रङ्गशाला र खेल मैदान निमार्ण गर्ने विषयमा जोड दिएको छ। प्राथमिक तहदेखि महाविद्यालयसम्म खेलकुद सम्बन्धी कार्यक्रममा विद्यार्थीलाई समावेश गराउने तथा खेलकुदसम्बन्धी आवासीय विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गर्ने जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी : स्थानीय तहमा रङ्गशाला

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिका एक खेल मैदानसहितको खेलकुद एजेण्डा अगाडि सारेको छ। खेलकुद विकास गर्ने योजना बनाएको राप्रपाले प्रदेश र स्थानीय स्तरमा आवश्यकताको आधारमा रङ्गशाला, कभर्ड हल, खेल मैदान, खुला व्यायामशाला बनाउने एजेण्डा बनाएको छ। त्यस्तै स्थानीय प्रतिभाशाली खेलाडी तथा प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षणको प्रबन्ध मिलाउने, अक्षय कोषको व्यवस्था गर्दै खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने उल्लेख गरेको छ।

नेपाल समाजवादी पार्टी : खेल प्रवर्द्धनमा जोड

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नेपाल समाजवादी पार्टीले खेलकुद क्षेत्रमा लाग्न चाहने युवालाई प्रोत्साहनमूलक कार्यक्रमको व्यवस्था गर्ने र खेलकुद सम्बन्धी कार्यक्रमको प्रवर्द्धनमा विशेष ध्यान दिने नीति लिने आसन्न निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेख गरेको छ।

नेपाली राजनीतिका शीर्ष दलको परिचय पाएका अलावा अन्य साना दलहरूले पनि खेलकुदका विषय जोडेका छन्। सबैको चासो पूर्वाधार नै रहेको छ। मङ्सिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र लिएर जनताको घरदैलोमा पुगिसकेको अवस्थामा खेलकुदमा जीवन बिताएका खेल पदाधिकारीले भने खेल बुझ्ने पदाधिकारी अभिभावक संस्थामा खोजिरहेका छन्। दलले जारी गरेको घोषणा पत्रमा देशको मुहार फेर्नेदेखि आर्थिक समृद्धिका चखिला नारा जस्तै खेलकुद क्षेत्रको फड्को मार्ने योजनासहितका एजेण्डा र कार्यान्वयन पक्ष अहिलेको खेलकुदको आवश्यकता हो।