राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक १६ गते । पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि वालिङका कृषक चिन्तित बनेका छन् ।
वालिङ नगरपालिका–१४ स्थित हुल्काङका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘युएस ३१२’ मा दाना नलागेपछि स्थानीय चार जना कृषक समस्यामा परेका हुन् ।
राम्रो फल्ने भन्दै एग्रोभेटबाट बीउ खरिद गरी रोपिएको धानमा बाला नलागेपछि किसान चिन्तित बनेका हुन् ।
गएको वर्षमा स्थानीय जातको धान लगाउँदै आएका यस क्षेत्रका कृषकहरूले धेरै उत्पादनको आशामा उक्त धान रोपेका हुन् ।
किसानले १७ रोपनी खेतमा लगाएको धानमा दाना नै लागेको छैन । अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै आफूहरूले उक्त धान लगाएको कृषक टेकप्रसाद डुम्रेले जानकारी दिनुभयो । उहाँले सात रोपनी खेतमा उक्त धान लगाउनुभएको छ ।
यस्तै, रामप्रसाद डुम्रेको ३ रोपनी, घनश्याम डुम्रेको ४ रोपनी र धनमाया डुम्रेको ३ रोपनी खेतमा लगाइएको धानबालीमा दाना नलागेको हो ।
पराल मात्रै भए पनि काटेर सुकाएका छौँ कृषक धनमाया डुम्रेले भन्नुभयो, ‘वर्ष भरी खाउँला भनेर रोपेको धान यस्तो भयो अब के गर्ने सारै पिर परेको छ ।’
वालिङ नगरपालिका कृषि शाखाका प्राविधिक केशबहादुर थापाकाअनुसार युएस ३१२ जातको धान उपल्लो भेगमा फल्दैन । तराई, भित्री मधेश, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिन्छ ।
समुन्द्री सतहबाट सात सय मिटरको उचाइ सम्म राम्रो फल दिने उक्त जातको धान अग्लो ठाउँमा लगाइएको कारण नफलेको हुन सक्ने थापाको भनाइ छ ।
ढिलो धान रोप्नु र अविरलको वर्षाको कारण धानमा दाना नलागेको थापाको भनाइ छ । धानमा दाना नलाग्नुको अन्य कारण बारे अनुसन्धान भइरहेको प्राविधिक थापाले जानकारी दिनुभयो ।
कुन ठाउँमा कुन धान लगाउने भन्ने आवश्यक ज्ञानको अभावमा उनीहरू मर्कामा परेको वडा नम्बर १४ का वडा अध्यक्ष बोधराज कुँवर ‘राजु’ले जानकारी दिनुभयो ।
मारमा परेका कृषकहरूलाई आवश्यक राहत उपलब्ध गराउनका लागि धानको बीउ बेच्ने एग्रोभेट तथा सरकारी निकायसँग समन्वयको काम भइरहेको कुँवरले जानकारी दिनुभयो ।
वडा अध्यक्ष कुँवरसहितको प्राविधिक टोलीले कृषकहरूको खेतमा नै गएर नमुना सङ्कलन गरिसकेको छ ।
किसानहरू हाइब्रिड धानमा आकर्षित हुँदा रैथाने बीउ भने मासिँदै गएको प्राविधिकहरूको भनाइ छ । पहाडी क्षेत्रमा कुन हाइब्रिड धान रोप्ने भन्ने जानकारी कृषकहरूलाई नहुँदा उनीहरू समस्यामा पर्दै आएका छन् ।
वडा कार्यालयले आगामी दिनमा किसानलाई रैथाने बीउ लगाउन प्रोत्साहन गर्न अध्यक्ष कुँवरले बताउनुभयो ।