• १६ भदौ २०८१, आइतबार

प्रत्यक्ष प्रतिस्पर्धामा महिला उम्मेदवार बाह्र प्रतिशत

blog

राममणि दाहाल 

हेटौँडा, कात्तिक १६ गते ।  आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीमा प्रतिस्पर्धा गर्ने महिला उम्मेदवारको सङ्ख्या कम रहेको छ। 

संविधानले प्रतिनिधि सभा तथा प्रदेश सभामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत गर्ने सुनिश्चित गरेको छ। तर आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न उम्मेदवार दर्ता गराएका महिलाको सङ्ख्या निकै कम रहेको निर्वाचन आयोग नेपालको तथ्याङ्कमा छ।

बागमती प्रदेशमा प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्नेमा पुरुष उम्मेदवारको अनुपातमा महिला उम्मेदवारको सङ्ख्या अत्यन्त न्यून रहेको छ। समानुपातिकतर्फ दलहरूले पुरुषको तुलनामा बढी महिलाको नाम बन्द सूचीमा राखेर निर्वाचन आयोगमा बुझाएका छन्।

बागमती प्रदेशमा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ विभिन्न दल र स्वतन्त्र गरी ६६८ जनाको उम्मेदवारी दर्ता भएकोमा ८० जना महिलाको मात्र उम्मेदवारी परेका छन् । 

संविधानले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेकोमा प्रदेश सभा सदस्यका लागि परेको उम्मेदवारीको आधारमा उम्मेदवारको विवरण प्रतिशत पुरुषको ८८ र महिलाको १२ प्रतिशत मात्र रहेको छ। प्रदेश सभा सदस्यमा ८० जना महिला उम्मेदवार रहेकोमा तीमध्ये झण्डै आधा अर्थात् ३६ जना स्वतन्त्र महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाले दलहरू महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनमा पछाडि परेको देखिन्छन्।

११० जना प्रदेश सभा सदस्य रहने बागमती प्रदेश सभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुन ३७ जना महिला प्रदेश सभामा पुग्नु आवश्यक हुन्छ।

प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न यस प्रदेशमा दल र स्वतन्त्र गरी आदिवासी/जनजातिमा ३५८ जनाको उम्मेदवारी परेकोमा तीमध्ये ४१ जना महिला, २६१ खसआर्यको उम्मेदवारी रहेकोमा तीमध्ये ३७ महिला र दलित १२ जना उम्मेदवार रहेकामा तीमध्ये दुई जना महिला रहेको निर्वाचन आयोगको अभिलेखमा छ।

बागमती प्रदेशमा प्रदेश सभा सदस्यमा दल र स्वतन्त्रको गरी उम्मेदवारी परेको मध्येमा आदिवासी/जनजाति ५३.५९, खसआर्य ४४.६१ र दलित १.८० प्रतिशत रहेको पाइन्छ।

यस प्रदेशभा ठूला दलहरूले महिलालाई प्रदेश सभा सदस्यमा कम सङ्ख्यामा उम्मेदवार बनाएका छन्। प्रदेशभरमा ५८ जनालाई उम्मेदवार बनाएको नेपाल मजदुर किसान पार्टीले सबैभन्दा बढी १४ जना महिलालाई प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ।कुल ४२ उम्मेदवार रहेको नेपाली कांग्रेस र ६५ उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा पाँच–पाँच जना, ६५ उम्मेदवार रहेको नेकपा (एमाले) र १२ उम्मेदवार रहेको नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा एक–एक जना तथा २४ उम्मेदवार रहेको नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा दुई जना महिलालाई प्रत्यक्षमा प्रतिस्पर्धा गर्न अगाडि सारेको छ। 

यस्तै प्रत्यक्षमा कुल ३२ उम्मेदवार रहेको जनता समाजवादी पार्टी नेपालले चार जना महिला र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २१ जनामध्ये दुई जना महिलालाई, नेपाली कांग्रेस (बीपी) का १२ जनामध्ये दुई जना र मङ्गोल नेसनल अर्गनाइजेसनका ३७ जनामा दुई जना महिला उम्मेदवार छन्। 

यसैगरी नेपाल सुशासन पार्टीका छ जनामा उम्मेदवारमा दुई जना, मौलिक जरोकिलो पार्टीको पाँच जनामा दुई जना, नेपालका लागि नेपाली पार्टीको पाँच जनामा एक जना र तामाङसालिङ लोकतान्त्रिक पार्टीको चार जनामा एक जना महिला उम्मेदवार प्रदेश सभा सदस्यमा चुनावी प्रतिस्पर्धामा छन्। बागमती प्रदेशमा कुल समानुपातिक उम्मेदवार ८२५ जना रहेकोमा महिला ४७१ र पुरुष ३५४ जना रहेका छन्।