रेखीराम राना
पाल्पा, कात्तिक १६ गते । पाल्पा माथागढी–३, कसेनीका किसान यानसिंह चिदीले केही वर्षअघिसम्म धान पराल थनक्याउन मान्छे र गोरु प्रयोग गर्नुहुन्थ्यो । तर, अहिले उहाँ कृषि प्रविधिको प्रयोग गरेर धान र पराल थन्क्याउनुहुन्छ ।
कृषि प्रविधिको प्रयोगले किसानलाई सुविधा मात्र दिएको छैन, कृषि लगानीसमेत घटाएको उहाँको अनुभव छ । प्रविधिको प्रयोगले धान पराल थन्क्याउन मान्छे र गोरुका लागि गरिने लगानी र समयको समेत बचत भएको चिदीको भनाइ छ । धान–पराल थन्क्याउन मान्छे र गोरुको खर्चभन्दा प्रविधिको खर्च सस्तो र सहज हुँदै गएको उहाँले बताउनुभयो ।
पछिल्लो समय धान काट्न, धान र पराल छुट्याउन र थन्क्याउन कृषि प्रविधिको प्रयोग बढ्दै गएको छ । धान काट्ने मेसिन, थ्रेसर, ट्याक्टर धान पराल स्याहार्नका लागि प्रयोग बढ्दै गएको छ । कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको र यसले किसानको समय र लगानीको समेत बचत गरेको माथागढी–२, रुप्सेका पूर्णबहादुर सारुले बताउनुभयो । “पाँच वर्षअघिसम्म धान काट्न खेताला (ज्यामी) खोज्नुपर्ने हुन्थ्यो,” उहाँले भन्नुभयो “अहिले एक फोनको भरमा खेतमै धान काट्ने मेसिन आउँछ ।”
मेसिनको सहायताबाट धान काट्दा दिनभर समय दिन नपर्ने, ज्यामी खोज्दै हिँड्न नपर्ने, ज्यामीका लागि नास्ता बनाउन रकम र समय खर्च गर्न नपरेको किसानको भनाइ छ ।
मेसिनको सहायताबाट धान काट्दा खर्चसमेत तीन भागमा एक भाग मात्रै भएको उनीहरू बताउँछन् । यस्तै धान र पराल छुट्याउँदा थ्रेसरको प्रयोगले किसानको लगानी र समयको बचत भएको छ । थ्रेसर भित्रिएपछि गोरुको सहायताले दाइँ हाल्ने झन्झटबाट समेत मुक्त भएको माडी कसेनीका स्थानीय किसान रुकवीर कुमालले बताउनुभयो । “थ्रेसर आएपछि दाइँ गर्न साता÷दस दिन समय लगाउन परेन,” उहाँले भन्नुभयो, “केही घण्टामै सबै काम सकिने भयो ।” पछिल्लो समय दाइँका लागि गोरु पाल्ने किसानको सङ्ख्यासमेत ज्याँदै कम भएकाले थ्रेसरको प्रयोग बढेको उहाँले बताउनुभयो ।
यस्तै धान र पराल स्याहार्न मान्छेको सट्टामा ट्याक्टरको मात्रै प्रयोग हुने गरेको छ । पछिल्लो पाँच÷सात वर्षयता पराल र धान बोक्न ट्याक्टरको मात्रै प्रयोग भएको किसानको भनाइ छ । पहिले मानिसले नै धान र पराल बोकेर निश्चित स्थानसम्म लैजानुपर्ने अवस्था थियो । तर, अहिले कम लगानी र थोरै समयमा धान पराल स्याहार्ने गरिएको कुमालले बताउनुभयो ।
कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन स्थानीय तह, प्रदेश सरकार तथा अन्य निकायले अनुदान दिइरहेका छन् । यसले कृषिमा प्रविधिको प्रयोग बढेको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताउनुभयो । कृषि क्षेत्रमा प्रविधिको प्रयोगले लागत खर्च कम भएको र उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो ।