श्यामशंकर पाण्डे
लुम्बिनी, कात्तिक १५ गते । गृहमन्त्री बालकृष्ण खाणले संविधान च्यात्ने षड्यन्त्रविरुद्ध सचेत हुनुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका मन्त्री खाणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
‘‘मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिँडेको पार्टीलाई समेटेर एमालेले गठबन्धन गरेको छ । त्यो तीन दलीय गठबन्धन संविधान च्यात्न र मुलुकलाई पश्चगमनतर्फ धकेल्न लागिरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘जनप्रतिनिधिले बनाएको संविधान संसदमा दुई तिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म, भावना विपरीत संविधान नै च्यात्न उद्धत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु हो । यो हामीलाई स्वीकार्य हुँदैन ।’’
उहाँले यो विषयमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । ‘‘यसबाट हामी सबै सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिलाई परास्त गर्न आम नागरिकलाई मैले आग्रह गर्छु’’, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय समस्यासमेत रहनुभएका गृहमन्त्री खाणले सरकार बनाउन नसक्नेले भोलि कुनै पनि योजना पार्न नसक्ने भएकाले मत हाल्नुको अर्थ नभएको बताउनुभयो ।
‘‘निर्वाचनमा होमिएका केही दलको संसदमा उपस्थिति नै नगन्य मात्रामा हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने ? कसरी विश्वास गर्ने ?’’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘‘पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, निर्वाचनपछि पनि सरकार हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।’’