• २ माघ २०८१, बुधबार

टी–२० विश्वकप क्रिकेट

श्रीलंकासँगको हारसँगै बाहिरियो अफगानिस्तान

blog

सुपर १२ मा प्रतिस्पर्धा गर्दै श्रीलंका र अफगानिस्तानका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौं, कात्तिक १५ गते । श्रीलंकासँगको हारसँगै अफगानिस्तान अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । ब्रिस्बेन क्रिकेट मैदानमा मंगलबार भएको खेलमा अफगानिस्तान श्रीलङ्कासँग ६ विकेटले पराजित भयो ।

अफगानिस्तान विश्वकपमा सुपर १२ बाट बाहिरिने पहिलो टोली समेत बनेको छ । जितका लागि एक सय ४५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १८.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४८ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

श्रीलङ्काको जितमा धनञ्जय डी सिल्भाले अविजित ६६ रन बनाउनुभयो । कुशल मेन्डिसले २५, चरिथ असालांकाले १९, भानुका राजपक्षेले १८ र पाथुम निसांकाले १० रन जोड्नुभयो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो ।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक २८ रन बनाउनुभयो । उस्मान घानीले २७, इब्राहिम जद्रानले २२, नाजिबउल्लाह जद्रानले १८, मोहम्मद नाबीले १३ र गुलावदिन नाबिदले १२ रन बनाउनुभयो । 

बलिङमा श्रीलङ्काका वानिन्दु हसरंगाले तीन विकेट लिनुभयो । लाहिरु कुमाराले दुई तथा कासुन रजिथा र धनञ्जय डी सिल्भाले एक एक विकेट झार्नुभयो । जितसँगै श्रीलङ्का समूह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ ।

श्रीलङ्काको चार खेलबाट चार अङ्क छ । श्रीलङ्काले अब अन्तिम खेल इङ्ल्यान्डसँग खेल्नेछ । पराजित अफगानिस्तान दुई अङ्क जोड्दै अन्तिममा छ । अफगानिस्तानले अब अन्तिम खेल अष्ट्रेलियासँग खेल्नेछ ।

समूहको शीर्षस्थानमा रहेको न्युजिल्यान्डको तीन खेलबाट पाँच र दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको चार खेलबाट पाँच अङ्क छ । समान तीन अङ्क बनाएका इङ्ल्यान्ड र आयरल्यान्ड क्रमशः चौथो र पाँचौँ स्थानमा छ । एजेन्सी