• १७ असार २०८१, सोमबार

घाँस बिक्रीबाट वार्षिक २५ लाख रुपियाँसम्म आम्दानी

blog

व्यावसायिक रूपमा गरिएको घाँसखेती । तस्बिर : मीना कँडेल

मीना कंडेल

कावासोती, कात्तिक १४ गते । वैदेशिक रोजगारीबाट राम्रो कमाउन आसमा बिदेशिएका युवाहरू अहिले स्वदेश फर्केर कृषि पेसामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू पछिल्लो समय स्वदेशमा विदेशकोजस्तै परिश्रम गर्ने हो भने राम्रो कमाउन सकिन्छ भन्ने जोस र जाँगर बोकेर कृषिमुखी व्यवसायमा रमाउन थालेका छन् ।

पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका –१२ का कृषक विष्णु भट्टले चार वर्ष मलेसियामा बसेर कडा परिश्रम गरेर स्वदेश फर्केपछि अहिले कृषि व्यवसायमा रमाउन थालेको बताउनुभयो । विगत ५ वर्षदेखि व्यावसायिक रूपमा घाँस खेती गर्दै आउनुभएको छ । व्यावसायिक घाँस खेतीमा लाग्नुभएका भट्टले यस खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । वार्षिक रूपमा घाँस बिक्रीबाट २५ लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अरूको ठाउँमा मेहनत र पसिना बगाउनुभन्दा आफ्नो ठाउँमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएको हो । मलेसियामा चार वर्ष बिताउँदा निकै अप्ठेरो भयो । स्वदेश फर्किएर घाँसखेती गरेपछि राम्रो आम्दानी भएको छ ।”

घाँस प्रतिकेजी ६ रुपियाँ र घाँसका बिरुवा प्रजाति हेरी प्रतिबिरुवा २ देखि ५० सम्ममा बिक्री हुनेगरेको भट्टले बताउनुभयो । 

हरियो घाँसभन्दा घाँसको बिरुवा बिक्रीबाट धेरै आम्दानी लिनेगरेको उहाँले बताउनुभयो । डेढ बिघा क्षेत्रफलबाट घाँसखेती सुरु गर्नुभएका कृषक भट्टले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आउनुभएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा भाडामा लिएर भट्टले व्यावसायिक घाँस खेती गर्दै आउनुभएको हो । 

आफूले लगाएको घाँस जिल्लाकै पशुपालक किसानले खरिदारी लैजानेगरेको उहाँले बताउनुभयो । घाँसका बिरुवा भने नवलपुरसहित देशका विभिन्न जिल्लाका किसानले खरिद गरी लैजानेगरेका छन् । कृषक भट्टले सुपर नेपियर, मलाटो, नेपियर लगायतका घाँसखेती गर्दै आउनुभएको छ । 

गैँडाकोटसहित देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा उहाँले घाँस खेतीसहित उखु, गिठ्ठा लगाउनुभएको छ । कृषक भट्टले घाँस खेतीसहित ५ बिघा क्षेत्रफलमा रानी गिठ्ठाको समेत व्यावसायिक खेती गर्दै आउनुभएको छ । चार वर्षअघि १० लाख रुपियाँको लागतमा रानी गिठ्ठाको व्यावसायिक खेती सुरु गरेको कृषक भट्टले बताउनुभयो ।

एक पटक लगाएको गिठ्ठाबाट पटक पटक उत्पादन लिन सकिने उहाँको भनाइ छ । उत्पादित गिठ्ठा स्थानीय बजारसँगै चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बिक्री हुँदैआएको उहाँले बताउनुभयो । अहिले गैँडाकोटका अधिकांश युवाले व्यावसायिक रूपमा कृषि, गाई भैँसीपालनमा रमाएको भट्टले बताउनुभयो । विदेशभन्दा स्वदेश नै प्यारो बन्न थालेको उहाँको अनुभव छ ।