• १६ भदौ २०८१, आइतबार

पाल्पाको सत्यवतीमा चिच्याएर ‘वर’ माग्ने मेला लाग्ने

blog

पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सत्यवती ताल क्षेत्र तथा सत्यवती बज्यैको मन्दिर । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, कात्तिक १४ गते ।
पाल्पाको सत्यवतीमा चिच्याएर ‘वर’ माग्ने मेला लाग्ने भएको छ । यही कात्तिक १७ देखि २२ गतेसम्म सत्यवती ताल क्षेत्रमा ‘चिच्याएर वर माग्ने मेला’ लाग्ने भएको हो । विगत तीन वर्षदेखि कोरोना महामारीका कारण हुन नसकेको मेला यो वर्ष भव्य रुपमा हुने सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तिनाउ गाउँपालिकाको वडा नं. ४ स्थित सत्यवती ताल क्षेत्रमा हरेक वर्ष कात्तिक पूर्णिमाका हुनुभन्दा अघिदेखि मेला लाग्ने गर्दछ । यहाँ चिच्याएर वर माग्नका लागि भारतसहित नेपालका विभिन्न स्थानबाट हजारौँ भक्तजनहरू आउने गर्दछन् ।


परापूर्व कालमा सत्यवती बज्यैले तपस्या गरेको स्थानमा ‘चिच्याएर वर मागे’ पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । समितिका अध्यक्ष दानबहादुर गाहाले सत्यवती बज्यै कानले नसुन्ने भएकाले आफूले मनमा चिताएको ‘वर चिच्याएर मागे’ पूरा हुने विश्वास रहँदै आएको बताउनुभयो ।

मेलामा डेढदेखि दुई लाख भक्तजन आउने अनुमान गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष मेलाका बेला आउने भक्तजनलाई सुविधा पुग्ने गरी यातायातको व्यवस्था र सुरक्षाको प्रबन्धन राम्रो गरिने उहाँको भनाइ छ । सत्यवती मेला पाल्पा जिल्ला र लुम्बिनी प्रदेशकै अनौठो र गौरवमय मेला भएकाले यसको प्रचारप्रसार तथा धार्मिक पर्यटन प्रवर्द्धनमा सबैको सहयोग हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।