• २३ साउन २०८२, शुक्रबार

प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं : मुख्यमन्त्री आचार्य

blog

प्राविधिक शिक्षालय कक्षको अवलोकन गर्दै मुख्यमन्त्री आचार्य ।

छविलाल पाण्डे 

बुटवल, साउन २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सकिनेगरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्रीले भन्नुभयो, "प्राविधिक विषयको अध्ययन गरेपछि बेरोजगार बस्नुपर्दैन । कसैले रोजगारी पाउँछ, कसैले आफैँ उद्यम सुरु गर्छ । त्यसैले विद्यार्थीहरूलाई सिप सिकाउने कार्यमा शिक्षालयहरू अझ सक्रिय हुन जरुरी छ ।" उहाँले सिपयुक्त व्यक्ति कहिल्यै भौँतारिरहनु पर्दैन भन्दै जुनसुकै स्थानमा भए पनि पेशा, व्यवसाय वा उद्यममार्फत जीवन निर्वाह गर्न सक्षम हुने बताउनुभयाे । 

मुख्यमन्त्री आचार्यले शिक्षालयहरूलाई अध्यापन गराइने विषय र हासिल गरिएका उपलब्धिबारे व्यापक प्रचारप्रसार गर्न निर्देशन दिनुभयो । "हामीले गरेका कामबारे जनतालाई जानकारी दिन जरूरी छ, विद्यार्थीहरूलाई आकर्षित गर्न प्रचारप्रसार मुख्य माध्यम हो", उहाँको भनाइ थियो ।

उहाँले प्रदेश सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षालयहरूलाई पनि सोही अनुरूप शिक्षण प्रक्रियालाई तीव्र बनाउन आग्रह गर्नुभयो ।

शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले पछिल्ला दिनमा विद्यार्थी सङ्ख्या घट्दै गएको र विद्यार्थीलाई थप आकर्षित गर्नेगरी भूमिका बढाउन थालिएको जानकारी दिनुभएको थियो । शिक्षालयका विद्यार्थीहरूले प्रयोगात्मक कक्षामा दुनाटपरी बनाउने औजारदेखि पनिर च्याप्ने उपकरणसम्मको निर्माण गरेका छन्। तयार पारिएका उपकरणको बारेमा अनुगमनको क्रममा चर्चा गरिएको थियो ।

मुख्यमन्त्री आचार्यले शिक्षालयको निरीक्षण गर्दै अध्ययन–अध्यापनलाई अझ प्रभावकारी बनाउन, विद्यार्थीको मागअनुसार नयाँ विषयहरू थप गर्ने र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षालयमा विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, यान्त्रिक इन्जिनियरिङ, रेफ्रिजेरेसन तथा एयर कन्डिसनिङ, सूचना प्रविधि इन्जिनियरिङ लगायत विषयमा लामो तथा अवधिको पढाइ हुँदै आएको छ ।