• २३ साउन २०८२, शुक्रबार

अर्मेनिया र अजरबैजानबिचको ऐतिहासिक ‘शान्ति सम्झौता’को लागि अमेरिकाले वार्ताको आयोजना गर्ने

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिङ्टन, साउन २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजरबैजान र अर्मेनियाका नेतालाई शुक्रबार स्वागत गर्नुहुने भएको छ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ ह्वाइट हाउसमा हुने ‘शान्ति सम्झौता हस्ताक्षर समारोह’मा सहभागी हुनेछन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको घोषणा गरेको एक दिनपछि अमेरिकाले पछिल्लो कूटनीतिक पहलबारे जानकारी दिएको हो । ट्रम्पले पटक–पटक आफ्नो कूटनीतिक प्रयासको प्रशंसा गर्दै आफू यो पुरस्कारको हकदार भएको बताउँदै आउनुभएको छ भने जारी रुस–युक्रेन युद्ध र इजरायलको आक्रमणका क्रममा गाजामा देखिएको भोकमरीप्रति पनि निराशा व्यक्त गर्नुभएको छ । 

अर्मेनिया र अजरबैजानका लागि पनि शान्ति कायम हुन सकेको छैन । दशकौँसम्म शत्रु बनेका दुई पूर्व सोभियत गणतन्त्रले विवादित काराबाख क्षेत्रलाई लिएर दुई पटक युद्ध गरे, जसलाई अजरबैजानले सन् २०२३ को ‘संक्षिप्त तर निर्णायक’ आक्रमणमा अर्मेनियाली सेनाबाट फिर्ता लिएको थियो । गत महिना संयुक्त अरब इमिरेट्स (युएई) लगायत देशले दुई देशबिचको शान्तिपूर्ण समाधानका लागि वार्ता गरेका थिए, तर कुनै सफलता हासिल हुन सकेको छैन ।

ट्रम्पले लेख्नुभएको छ, “यी दुई राष्ट्रबिच वर्षौंदेखि युद्ध चलिरहेको छ, जसका कारण हजारौँ मानिसको मृत्यु भएको छ ।” “धेरै नेताहरूले युद्ध अन्त्य गर्ने प्रयास गरेका छन्, तर अहिलेसम्म कुनै सफलता प्राप्त भएको छैन, ‘ट्रम्प’ लाई धन्यवाद । मेरो प्रशासनले केही समयदेखि दुवै पक्षसँग काम गरिरहेको छ,” उहाँ (ट्रम्प)ले भन्नुभयो, “यी साहसी नेताहरूले सही काम गरेकोमा मलाई गर्व छ ।” 

“शुक्रबार अर्मेनिया, अजरबैजान, संयुक्त राज्य अमेरिका र विश्वका लागि ऐतिहासिक दिन हुनेछ,” ट्रम्पले भन्नुभयो । अर्बपति व्यवसायी ट्रम्पले वासिङ्टनले दुवै देशसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने र आर्थिक अवसरलाई एकसाथ अगाडि बढाउने बताएका छन् ।

-‘एक्सोनमोबिल’ सम्झौतामा हस्ताक्षर-

ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र अलियेभको उपस्थितिमा बिहीबार वासिङ्टनमा एक्सनमोबिल र अजरबैजानको सरकारी ऊर्जा कम्पनी सोकारबिच सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको थियो । “अलियेभ र विटकोफबिच वार्ता भएको अजरबैजानका राष्ट्रपतिले एक्समा पोस्ट गरेको एक सन्देशमा उल्लेख छ । पूर्व सोभियत गणतन्त्रहरूले मार्चमा विस्तृत शान्ति सम्झौताको पाठमा सहमति जनाएका थिए ।

अजरबैजानले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुअघि अर्मेनियाको संविधानमा संशोधन गरी काराबाखको क्षेत्रीय दाबी खारेज गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । ती माग पूरा भए÷नभएको बिहीबार स्पष्ट भएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले ‘केही समयदेखि दुवै पक्षसँग सहमतिका लागि काम गरिरहेको’ बताए पनि दुई देशका प्रतिनिधिले हस्ताक्षर गर्ने दस्तावेजबारे विस्तृत जानकारी भने दिएका छैनन् । 

जुलाईको सुरुमा पाशिन्यान र अलियेभले संयुक्त अरब इमिरेट्समा पछिल्लो चरणको शान्ति वार्ताका लागि भेट गरेका थिए । यसअघि गत मे महिनामा अल्बानियामा भएको युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलनका क्रममा यी दुई नेताबिच भेटवार्ता भएको थियो ।

त्यतिबेला फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले दुई देशबीचको शान्ति सम्झौतामा शीघ्र हस्ताक्षर गर्न आग्रह गरेका थिए । रूस, युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र टर्की सबैले प्रभावका लागि होडबाजी गरिरहेको क्षेत्रमा सम्बन्धलाई सामान्यीकरण गर्ने सम्झौता एउटा ठूलो सफलता हुनेछ । रासस/एएफपी