• २३ साउन २०८२, शुक्रबार

अवरुद्ध लोकमार्ग सञ्चालनमा

blog

जङ्गली भलका कारण क्षतिग्रस्त डाइभर्सनमा मर्मतपछि दुईतर्फी सवारी आवागमन गर्दै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, साउन २३ गते । अविरल वर्षाका कारण अवरुद्ध लोकमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । जङ्गली  क्षेत्रबाट तीव्र गतिमा आएको वर्षे भलका कारण मङ्गलवार बिहानदेखि अवरुद्ध बर्दीबास ५ स्थित पूर्वपश्चिम लोकमार्ग ठेकेदार कम्पनी एसडब्ल्युइजी र रसुवागढी ज्वाइन्ट भेन्चरको प्रयासमा शुक्रवारदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो । 

मर्मत भएपछि डाइभर्सनबाट सवारी आवागमन निर्बाधरुपमा सञ्चालनमा आएको छ । वर्षे भलले करिब ३० फिट कटान गर्नुका साथै डाइभर्सनमा रहेकोे ह्युमपाईपसमेत बगाएपछि ठप्प रहेको सडक ६ घण्टापछि एकतर्फी मात्र सञ्चालन हुँदा ट्रापिकले आलोपालो सवारी पास गराएको थियो । जस्का कारण डाइभर्सन छिचोल्न जङ्गली  क्षेत्रमा लामो समय प्रतीक्षा गर्नुपर्दा यात्रीले सास्ती भोग्नुपरेको थियो।

सुरुमा आवागमन ठप्प भएपछि हतारमा रहेका कतिपय सवारी गौशाला रोड हुँदै करिब ४० किलोमिटर घुमाउरो बाटो भएर पूर्वपश्चिम लोकमार्गको लक्ष्मीनियाँ चोकबाट गन्तव्यतर्फ गएका थिए । 

ठेकेदार कम्पनीले ह्युमपाइपहरु जोेडजाड गरी बल्ल दुईतर्फी बाटो खुलाउन सकेको ट्राफिक प्रमुख जोशीले बताउनुभयो । चुरेलगायत जङ्गली  क्षेत्रमा बेलाबेला पानी परिरहेको हुँदा मर्मत गरिएको डाइभर्सनमा हिलोमाटो भरिएकोले आवागमनमा भने अहिले पनि केही समस्या देखिएको छ ।