• २३ साउन २०८२, शुक्रबार

पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको निधन

blog

स्वर्गीय खड्गबहादुर बस्याल।

काठमाडौं, साउन २३ गते । पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको शुक्रबार निधन भएको छ । उहाँ नेपाल दलित सङ्घका पूर्व अध्यक्ष, संविधान सभा २०६४ र २०७० का सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । 

बस्यालको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ तातापानीस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

विसं २००८ माघ १५ गते जन्मनुभएका स्वर्गीय बस्यालले नेपाली कांग्रेस र भ्रातृ संस्थाका विभिन्न पदीय जिम्मेवारीमा रहेर सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । 

बस्यालले सुर्खेत क्षेत्र नम्बर ३ बाट पहिलो र दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्दै संविधान निर्माणमा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नुभएको थियो ।

पूर्खेयौली घर पाल्पा हुनुभएका बस्यालको जन्म बाबु देवबहादुर र आमा मनिसराको कोखबाट भारतको मुम्बईमा २००८ साल माघ १५ गते भएको हो ।  

अन्तरजातीय विवाह गरेका कारण उहाँका बुबा १४ वर्ष भागेर भारतमा बस्नुभएको थियो । सोही बेला उहाँको जन्म भारतमा भएको हो । पूर्व राज्यमन्त्री बस्यालले दोस्रो संविधानसभामा नागरिक सम्बन्ध समितिका सदस्य बनेर काम गर्नुभएको थियो । 

उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ । 

नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । 

सभापति देउवाले भन्नुभएको छ, “पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभा सदस्य खड्गबहादुर बस्यालको निधनको खबरले मलाई अत्यन्त दुःखित र मर्माहत बनाएको छ ।’’

स्वर्गीय बस्यालले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने भनाइ पनि सभापति देउवाको छ । 

उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगततर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।