• १२ असोज २०८१, शनिबार

थैली युगको अन्त्य गर्छौं : अध्यक्ष ओली

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १३ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत ‘थैली युग’ को अन्त्य गर्दै बैङ्क खातामा पैसा जम्मा गर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । 

कृषिको आधुनिकीकरण, उद्योगहरूको स्थापना र सहकारीमार्फत ग्रामीण महिलालाई आयआर्जनमा जोड्दै रोजगारको अवस्था सिर्जना गर्ने किसिमले आफूहरू अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष ओलीले मूलकले अब आर्थिक उन्नतिमा फड्को मार्ने र यसबाट थैली युगको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । 

झापाको क्षेत्र नं. ५ अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले नेताहरू धनका धनी होइन मनका धनी हुनुपर्ने बताउनुभयो । दरिद्रताको सोचबाट माथि उठेर काम गर्न सकेमा यो सम्भव हुने उहाँको भनाइ छ । “गर्न नसक्ने भन्ने हुन्न तर गर्ने पनि र गर्न नदिने पनि सोच भएकाले समस्या छ” ओलीभन्नुभयो, “आफू र आफन्तलाई बनाउन लाग्ने होइन, जनतालाई कसरी माथि उकास्न सकिन्छ भन्ने सोच पलाउनुपर्छ ।”

यसैगरी ओलीले देशको अस्तित्व, स्वाभिमान, देश हितलाई जोगाएर विकासको बाटोमा लैजानु पर्ने दायित्वलाई पूरा गर्न मङ्सिर ४ को निर्वाचन निर्णायक रहेको बताउनुभयो ।  मङ्सिर ४ निर्वाचनले मूलकलाई कता लैजाने भन्ने निर्णय गर्ने बताउँदै विवेक लगाएर मत हाल्न उहाँले आग्रह गर्नुभयो । 

देश हितको पक्षमा, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा काम गर्ने सरकार बनाउने अवसरको रूपमा यो निर्वाचनलाई लिन अध्यक्ष ओलीले आग्रह गर्नुभयो । “हामीले सरकार चलाउँदा गरेका काम र लिएका अडानहरू तपाईँहरूमाझ प्रष्ट छ, अव त्यसको पूर्णताका लागि पुनः सहयोग गर्नुहोस्” उहाँले भन्नुभयो । 

जनताका मुर्छित सपनालाई जगाउने काम आफूले गरेको भन्दै आफूले ल्याएका कतिपय ठूला योजनालाई हावादारी भनेर उडाउने राजनीतिक दलहरूले तिनै विषय घोषणापत्रमा ल्याएको उहाँले बताउनुभयो । आखिर ती योजनाहरू जनताका लागि ल्याइएको थियो र मूलकको विकास त्यसबाट सम्भव थियो ओलीको भनाइ छ । 

जनतामा देखिएको निराशालाई आशामा बदल्ने काम आफूले हिजो गरेको र आज ती सपनालाई बिपनामा परिणत गर्न आफू उम्मेदवार बनेको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । “मङ्सिर ४ पछि एमालेले तालमेल भएका राजनीतिक दलहरूलाई सँगसँगै लगेर सरकार बनाउँछ र अपुरा कामलाई पूरा गर्छ” ओलीले भन्नुभयो ।

नागरिकता समस्या समाधान हुन्छ

यसैबीच झापाको गौरीगन्जमा भएको चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मधेसीका नागरिकताको समस्या समाधान गरिने बताउनुभयो । अहिले देखिएको नागरिकता समस्या समाधान हुन्छ उहाँले भन्नुभयो । 

मङ्सिर ४ को निर्वाचन परिवर्तनका लागि महासङ्ग्राम भएको बताउँदै निर्वाचनपछि बन्ने सरकारले नागरिकता समस्या समाधान गर्ने अध्यक्ष ओलीले प्रतिबद्धता जनाउनुभयो ।