• १६ भदौ २०८१, आइतबार

दशैंतिहारको ऋण तिर्न बोटेहरु हिँडे सुन खोज्न

blog

बालुवा सुन चाल्ने साधनसहित नदी किनारमा जाँदै गरेका बोटेहरु । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, मङ्सिर १३ गते । दशैं र तिहार चाड मनाउन लागेको ऋण ५७ वर्षीय मेखलाल बोटे बालुवा सुन खोज्न नदीको किनारतिर लाग्नुभएको छ । मेखलाल जस्तै व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका हुन् । आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटेहरु दशैं र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडालगायत साहुसँग ऋण लिएर चाडपर्व मनाउने गर्छन् र त्यो ऋण बालुवा फेला परेको सुन बिक्री गरेर तिर्ने चलन रहेको छ ।  

दशैं र मनाउन ३० हजार रुपियाँ ऋण लागेकाले सुन खोज्न हिँडेको मेखलालले बताउनुभयो । क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाइदिने गरेकाले सुन पाउन कठिन हुने गरेकाले ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको उहाँले बताउनुभयो । दुई ठूला चाड मनाउन साहुसँग ऋण लिएर मनाउने र बालुवामा सुन खोजेर बिक्री गर्ने पुरानो चलन हो’’ उहाँले भन्नुभयो ।

सीमान्तकृत बोटे समुदायहरूको बालुवामा सुन खोज्ने पुर्ख्यौली पेसा हो । काम गर्न सक्नेहरू ओढ्ने ओछ्याउने र पकाउने भाँडा, कुडाका गुन्टाहरू बोकेर नदी किनारमा नै पाल टाँगेर सुन खोज्ने काम गर्छन् भने नसक्ने बुढाबुढी र केटाकेटीलाई भने घरमा छाडेर सुन खोज्न जाने चलन रहेको अस्मिता बोटेले जानकारी दिनुभयो । 

अधिकांश बोटे घर परिवार गर्मी समयमा खेती किसानी गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्दै आएका छन् । गुजारा चलाउन कात्तिकदेखि वैशाखसम्म डुँड, पार्टी, चनौटो जस्ता सुन चाल्ने सामान लिएर नदी किनारमा सुन खोज्ने प्रचलन रहेको सोममाया बोटेले जानकारी दिनुभयो । कालीगण्डकी, बूढीगण्डकी, मर्स्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण भेटिने हुँदा उक्त नदी किनारामा सुन खोज्न जाने गरेको उहाँले जानकारी दिनुभयो  । 

सो ठाउँमा ४० बोटे मध्ये अधिकांश बोटेहरूले सुन चाल्ने पेसालाई निरन्तरता दिएका छन् । सुनकोसी, कर्णाली, महाकाली जस्ता नदीमा सुन प्रशस्त पाइने र त्यता जान खर्च बढी लाग्ने हुँदा नगएको फूलमाया बोटेले जानकारी दिनुभयो । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घर परिवार बसोबास गर्छन् । पाखे बोटेले माछा मारेर जीवन गुजारा गर्छन् भने पानी बोटेले बालुवा खुन खोजेर जीवन चलाउँछन् । दशैंपछि नै सुन खोज्न जाने भए पनि यसपालि दशैंमा धेरै वर्षा भएकाले अधिकांश तिहारपछि मात्रै सुन खोज्न हिँडेको सुकमाया बोटेले जानकारी दिनुभयो ।

सोही ठाउँ नजिकै रहेको बैरेनीस्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक हरिशरण पण्डितले स्थानीय चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय र  शिव माध्यमिक विद्यालय भएकाले शैक्षिक चेतनास्तरमा विकास हुँदै गए पनि बढी परम्परावादी भएकाले बोटे समुदाय पछि परेको बताउनुभयो ।

सदरमुकाम बन्ने क्रममा दमौलीबाट विस्थापित गर्ने क्रममा जमिन थोरै पाएकाले आर्थिक लाभ लिन नसकेकाले उनीहरू पछि पर्न गएको जानकारी प्रधानाध्यापक पण्डितले बताउनुभयो । ‘‘मदिरापान र सोझोपनले उनीहरू पछि परेका छन् त्यसलाई छिचोल्ने खालको कार्यक्रम समुदायमा पुर्‍याउन जरुरी छ’’ पण्डितले भन्नुभयो ।