• ९ मंसिर २०८१, आइतबार

निरन्तर चुनावी मैदानमा ज्ञवाली र भण्डारी

blog

गुल्मी क्षेत्र नम्वर १ का प्रतिस्पर्धी नेताहरु ज्ञवाली र भण्डारी तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक १३ गते । गुल्मीमा नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारी २०६४ सालदेखि प्रतिनिधि सभाको निर्वाचनमा निरन्तर प्रतिस्पर्धामा रहनुभएको छ । 

२०६४ देखि प्रतिस्पर्धामा रहनुभएका ज्ञवाली र भण्डारी केन्द्रीय स्तरको प्रभावशाली नेताको रूपमा स्थापित रहनुभएको छ ।  उहाँहरुबीच अहिले पनि चौथो पटक गुल्मी क्षेत्र नम्बर १ मा एमालेबाट ज्ञवाली र गठबन्धनको तर्फबाट भण्डारी चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

२०७४ सालको निर्वाचनमा एमाले–माओवादीको गठबन्धनबाट निर्वाचन जित्नुभएका एमालेका उपमहासचिव ज्ञवालीले पाँच वर्षे कार्यकालमा आफूले जिल्लामा धेरै कामहरू गरेकाले निर्वाचन जित्ने दाबी गर्नुभएको छ । वर्तमान गठबन्धनका कारण निर्वाचन जित्न कुनै समस्या नहुने भन्दै जनता सचेत भएकाले आफूले निर्वाचन जित्नेमा कुनै शङ्का नरहेको भण्डारीको तर्क छ ।

कांग्रेस, माओवादी, समाजवादी र जनमोर्चाको गठबन्धनबाट निर्वाचनको प्रतिस्पर्धामा रहनुभएका कांग्रेसका नेता भण्डारीले पाँच वर्षे कार्यकालमा ज्ञवालीले अवसर पाएर पनि खासै काम गर्न नसकेकाले गुल्मीलाई नमुना जिल्ला बनाउने गरी आफू निर्वाचनमा होमिएको बताउनुभएको छ ।

जनताले चुनेर पठाएका प्रतिनिधिले संविधानलाई पटक पटक कुल्चने काम गरेको आरोप लगाउँदै संविधानको रक्षा गर्न, आम नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन  गठबन्धनको तर्फबाट आफू निर्वाचनको प्रतिस्पर्धामा रहेको भण्डारीको भनाइ छ । 

गोरखापत्रकर्मीसँग संक्षिप्त कुरा गर्दै भण्डारीले गठबन्धनको साथ आफूसँग रहेको, नेता ज्ञवालीले पाँच वर्षमा जिल्लाका लागि खासै केही काम गर्न नसकेको र अहिलेको पुस्ताले परिवर्तन चाहने भएकाले आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताउनुभयो । 

यसअघि २०६४ को निर्वाचनमा ज्ञवाली, २०७० मा भण्डारी, २०७४ मा ज्ञवाली निर्वाचित हुनुभएको थियो । यसरी हेर्दा गुल्मी १ का मतदाताले आलोपालो नेतृत्वमा पुग्ने अवसर ज्ञवाली र भण्डारीलाई दिएका छन् । कतिपयले  आलोपालो अनुसार यस पटक भण्डारीको पालो रहेको बताउँदैआएका छन् । अर्का पक्षले भने राजनीतिमा पालोभन्दा पनि सक्षम नेताले जित्नुपर्ने तर्क गर्नेगरेका छन् । राष्ट्रिय राजनीतिमा नेता ज्ञवालीको पकड भण्डारीकोभन्दा बढी रहेको कतिपयको भनाइ सुनिन्छ ।

गुल्मी क्षेत्र नम्बर १ मा रहेका ५० वटा वडाहरूमध्ये  गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनअनुसार २३ वटामा एमाले, २२ वटामा कांग्रेस, ३ वटामा माओवादी केन्द्र र २ वटामा अन्य दलले जितेको जिल्ला निर्वाचन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।