• १३ साउन २०८१, आइतबार

प्याराग्लाइडिङ पुनः सञ्चालन

तिहारमा दैनिक दुई सय उडान

blog

सन्तोष सुवेदी

कास्की, कात्तिक १३ गते । अनिश्चितकालका लागि बन्द गरिएको प्याराग्लाइडिङ उडान पुनः सञ्चालनमा आएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्ध लगाएको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीका अनुसार प्याराग्लाइडिङ उडानलाई थप नियमित, सुरक्षित तथा व्यवस्थित बनाउन सुरक्षा उपाय सिफारिस गर्ने गरी बनेको समितिले प्रारम्भिक प्रतिवेदन पेस गरेको छ। उक्त प्रतिवेदनमा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्ने भन्ने निर्णय कात्तिक ४ गतेको बैठकबाट निर्णय भएको छ।

नेपाल हवाई खेलकुद संस्थाले सुरक्षा सिफारिस गर्ने गरी बनेको समितिका संयोजक तथा प्राधिकरण उपमहानिर्देशक हंशराज पाण्डेलाई पत्राचार गरी प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई १५ दिनभित्रमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार नेपाल हवाई खेलकुद संस्थाका प्रतिनिधिसहितको बैठक बसेर प्रतिवेदनमा उल्लेख भएका सुझाव कार्यान्वयन गर्ने निर्णय भएपछि कात्तिक ६ गते आइतबारदेखि प्याराग्लाइडिङ पुनः सञ्चालन भएका छन्।

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गत असोज ३० गते प्याराग्लाइडिङतर्फका खेल सञ्चालन हुँदै थिए। सोही क्रममा नेपाली सेनाको तर्फबाट प्रतियोगितामा सहभागी २८ वर्षीय खेलाडी निसिम थापाको प्याराग्लाइडिङ दुर्घटनामा परेर मृत्यु भएको थियो। खेलका क्रममा खेलाडीको मृत्यु भएपछि नेपाल उड्डयन प्राधिकरणले सोही दिन नै प्याराग्लाइडिङलाई अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो।

व्यवसाय प्रभावित

नेपाल हवाई खेलकुद संस्था (ना) पोखरा निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले एकहप्ते प्याराग्लाइडिङ बन्दले निकै प्रभावित बनाएको बताउनुभयो। उहाँका अनुसार आइतबार ५० जनाले उडान गरे। तिहारको भाइटीकाका दिन कात्तिक १० गते बिहीबार १५० उडान भएको र अरू दिन सरदर दुई सय उडान भएको भण्डारीले जानकारी दिनुभयो। 

“दैनिक चार सय उडान हुनेमा आइतबार ५० उडान भए,” उहाँले भन्नुभयो। उहाँले दशैँपछि उडान निकै राम्रो भए पनि एकहप्ते बन्दले पूरै व्यवसाय प्रभावित बनाएको सुनाउनुभयो। प्याराग्लाइडिङ उडानमा सबै पर्यटकको उडानका लागि आठ हजार रुपियाँ शुल्क लाग्ने गरेको छ। 

उहाँका अनुसार पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी संस्थामा आबद्ध छन्। यहाँ कार्यरत ३९० पाइलटमध्ये तीन सय पाइलटले प्याराग्लाइडिङ उडान गर्छन्। पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो। सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए। 

अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गरिन्छ। सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुङ्गा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो। मान्द्रेढुङ्गा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन्।