• १६ भदौ २०८१, आइतबार

नमुना अस्पतालको व्यवस्थापन एचडीसीएसले गर्ने

blog

नमुना सामुदायिक अस्पताल र एचडीसीएसबीच अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि भएको सम्झौता । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, कात्तिक १२ गते । लमजुङको सुन्दरबजार नगरपालिका –६ ठाँटीचौरस्थित नमुना सामुदायिक अस्पतालको व्यवस्थापन तथा सञ्चालन मानव विकास तथा सामुदायिक सेवा  (एचडीसीएस) ले गर्नेभएको छ । 

समुदायबाट सञ्चालित सो अस्पताललाई एचडीसीएस नमुना सामुदायिक अस्पताल, एचडीसीएस मोडेल कम्युनिटी हस्पिटल (एचडीसीएस एमसिएच) को रूपमा सञ्चालन गर्न सम्झौता भएको हो । नमुना सामुदायिक अस्पताल विकास समिति र एचडीसीएसबीच शनिबार एक कार्यक्रममा ३० वर्षका लागि सञ्चालन गर्ने सम्झौता भएको हो । 

सम्झौतापत्रमा प्रथम पक्षको तर्फबाट अस्पतालका अध्यक्ष परमेश्वर अधिकारी, दोस्रो पक्षबाट एचडीसीएसका कार्यकारी निर्देशक कपिल शर्माले हस्ताक्षर गर्नुभएको छ । सो सम्झौता सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला र एचडीसीएसका संस्थापक अध्यक्ष डा. तीर्थ थापाको रोहबरमा भएको हो । अस्पतालका संस्थापक अध्यक्ष सीताराम कोइराला र सल्लाहकार संयोजक अम्बिकाप्रसाद पण्डित साक्षी बस्नुभएको छ । 

एचडीसीएसले यसअघि लमजुङ जिल्ला अस्पताल व्यवस्थापन तथा सञ्चालन गर्दैआएको थियो । २२ वर्षसम्म सेवा दिएको एचडीसीएसले अस्पताल गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । नमुना सामुदायिक अस्पताल वि.सं. २०६१ मा नमुना सामुदायिक अस्पताल विकास समितिद्वारा स्थापना भई वि.सं. २०६७ देखि स्वास्थ्य सेवा दिँदैआएको छ ।

स्थानीय समुदायबाट अस्पताल सञ्चालन गर्ने काम चुनौतीपूर्ण भएको र लिइएको लक्ष्य प्राप्त हुन नसक्ने देखिएकाले एचडीसीएससँग सहकार्य गरेको अध्यक्ष परमेश्वर अधिकारीले बताउनुभयो । 

नमुना सामुदायिक अस्पताल विकास समितिका कुनै पनि सदस्य वा पदाधिकारीले कुनै पनि प्रकारको बाधा अड्चन सिर्जना नगर्ने र कुनै पनि प्रकारको हकअधिकार नखोज्ने सर्तमा एचडीसीएसले आफ्नो मूल्य तथा मान्यताअनुसार अस्पताललाई स्वतन्त्र रूपमा व्यवस्थापन र सञ्चालन गर्न सक्ने भनी सम्झौतापत्रमा उल्लेख छ । 

सम्झौतापत्र अनुसार सम्झौताको म्याद आगामी पौष १७ गते (१ जनवरी २०२३) को मितिबाट ३० वर्ष हुने उल्लेख छ । पहिलो पक्षले सम्झौता भङ्ग गर्न खोजेमा एक वर्ष अगावै लिखित सूचना दिई दोस्रो पक्षबाट भएको लगानी, निर्माण गरिएको पूर्वाधार तथा उपकरणहरू दोस्रो पक्षले फिर्ता लैजान पहिलो पक्षले रोक्न पाउने छैन । 

एचडीसीएसका संस्थापक अध्यक्ष तीर्थ थापाका अनुसार सुरुवातमा करिब ८ करोड रुपियाँ लगानी गरिने छ । आवश्यकताअनुसार लगानी बढाउँदै लैजाने उहाँले बताउनुभयो । जिल्ला अस्पताल लमजुङबाट दिँदैआएको स्वास्थ्य सेवाको स्तर नघट्ने गरी सेवा विस्तार हुने उहाँले बताउनुभयो ।