• १२ असोज २०८१, शनिबार

जनताको रेल चढ्ने सपना पूरा हुन्छ: एमाले अध्यक्ष ओली

blog

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक १२ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौँलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ सुरु गरिएको रेलमार्ग र औद्योगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताउनुभएको छ ।

झापाको दमकमा शनिबार संयुक्त रूपमा एमाले र राप्रपाले आयोजना कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देखिएका साना समस्यालाई हल गर्दै जनताको रेल चढ्ने सपना पूरा गराउने बताउनुभएको हो । नेपालीलाई सरल र सहज यातायातको पहुँचमा पुर्‍याउन आफूले रेलको सपना देखेको पनि जनाउनुभयो ।

किसानको जमिन लिएर सरकारले केही नगरी बस्न नमिल्ने जनाउँदै ओलीले यो समस्या आफूले बुझेको बताउनुभयो । 

‘रेल–वे भन्दा बाहिरको जग्गा पनि रोक्का भएको र त्यो अहिलेसम्म फुकुवा नभएको विषयमा म जानकार छु’, ओलीले भन्नुभयो । 

ओलीले झापाको कमल गाउँपालिका, दमक र गौरादह नगरपालिका क्षेत्र समेटेर बन्ने दक्षिण एसियाकै सबैभन्दा ठूलो नेपाली चीन मैत्री औद्योगिक पार्कको जग्गाको मुआब्जा वितरणको समस्या पनि हल गर्ने जनाउनुभएको छ । 

‘यहाँ लाखौँलाई रोजगार दिनसक्ने औद्योगिक पार्क बन्ने भएकाले आएका समस्याहरूलाई समाधान गरेर अघि बढ्नुपर्छ र समस्या समाधान हुन्छ ।’ उहाँले भन्नुभयो ।

दुई वर्षअघि तत्कालीन अवस्थामा प्रधानमन्त्री रहँदा ओलीले औद्योगिक पार्कको शिलान्यास गरे पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । यहाँका औद्योगिक क्षेत्रका समस्याहरू समाधान गरिने छ र यस विषयमा ढुक्क हुन आग्रह छ, उहाँले जनाउनुभयो । हामी यहाँ मात्र होइन देशभर विकासको लहर ल्याउँछौ, ओलीले भन्नुभयो ।