• ९ मंसिर २०८१, आइतबार

रुकुम पूर्वमा गोरु जुधाई प्रतियोगिता

blog

रुकुम पूर्वको भूमे गाउँपालिका ६ महत गाउँमा आयोजित गोरु जुधाई प्रतियोगिता । तस्बिर : राजु लामिछाने

राजु लामिछाने 

रुकुमपूर्व, कात्तिक ८ गते । रुकुम पूर्वको महत गाउँमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पूजाको अवसरमा उक्त प्रतियोगिता सञ्चालन गरिन्छ। 

गाउँखरदारी समितिको आयोजनमा सञ्चालन गरिएको गोरु जुधाई प्रतियोगितामा स्थानीय मनकुमार बुढाको गोरु प्रथम भएको आयोजक समितिका अध्यक्ष दलराज बुढाले जानकारी दिनुभयो। प्रतियोगितामा राज बुढाको गोरु द्वितीय र कमल बुढाको गोरु तृतीय भएका छन्।  

गाउँका बलिया गोरुको छनोट गरेर यो प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा जम्मा आठ वटा गोरुबीच प्रतिस्पर्धा गराइएको अध्यक्ष बुढाले बताउनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल गोरुका मालिकलाई ४५ सय, ३५ सय र २६ सय रुपियाँ नगद पुरस्कार प्रदान गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो। 

वर्षाको सिजनमा लेक तिर उकालिएका गोरुलाई दशैं तिहारमा गाउँतिर झार्ने र वर्षायाममा कसले गोरुको राम्रो रेखदेख गर्‍यो भनेर थाहा पाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्ने चलन रहेको स्थानीय चेतन खाम मगरले बताउनुभयो। प्रतियोगितामा प्रथम हुनेले गोरुका मालिकलाई आयोजकले पैसाको माला लगाई बाजागाजासहित घरसम्म पुर्‍याउने परम्परा रहेको छ।