• १३ असार २०८१, बिहिबार

लोकसंस्कृतिका विषय विश्वविद्यालयमा समेट्नुपर्ने

blog

प्रकाशविक्रम शाह

धनगढी, कात्तिक ८ गते । सांस्कृतिक पर्व गौराजस्ता पुस्तकहरु विश्वविद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने आवश्यकता औल्याइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औ जन्मजयन्तीको अवसरमा मङ्गलबार धनगढीमा आयोजित कार्यक्रममा सो कुरा औंल्याइएको हो । 

महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा डा. बद्री शर्मा विनाडीले लेखेको सांस्कृतिक पर्व ः गौराको चर्चा गर्दै साहित्यकार रामलाल जोशीले सो पुस्तकजस्तै यहाँ लोकसंस्कृतिमा लेखिएका पुस्तकलाई नेपालका विश्वविद्यालयका पाठ्यक्रममा समेट्नुपर्ने बताउनुभयो । 

सांस्कृतिक पर्व ः गौरा पुस्तकको बारेमा चर्चा गर्दे प्रा.डा. हेमराज पन्तले डा. विनाडीको संस्कृतिसम्बन्धी अनुसन्धान निकै महत्वपूर्ण रहेको बताउँदै भविष्यमा पनि यस्ता अनुसन्धान जारी राख्न आग्रह गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका डा. विनाडीले सो पुस्तक लेख्नुपूर्व गरेको अध्ययन, अनुसन्धानको स्मरण गर्नुभयो । विभिन्न जिल्लामा फरक तरिकाले गौरा पर्व मनाइन्छ उहाँले भन्नुभयो, धेरै ठाउँमा दलित समुदायले गौरा मनाउनु हुन्न भन्ने मान्यता पनि छ तर डडेल्धुराको अमरगढी नगरपालिकाको कडारा गाउँमा दलित समुदायले गौरा पर्व बृहत् रुपमा मनाउने गरेको बताउनुभयो ।

पहिले डडेल्धुराको निनाली गाउँमा २२ वटा गीत २२ दिन लगाएर गाउने अनि मात्र गौरा पर्व विसर्जन गर्ने चलन थियो डा. विनाडीले भन्नुभयो, ‘माओवादी युद्धपछि त्यो चलनमा ह्रास आएर २२ गीत ७ देखि ८ दिनमा गाएर सक्ने परम्परा छ ।’ 

सो अवसरमा भाषा बचाउ अभियानका अभियन्ता गुणाकर पनेरुले सभा समारोहमा आफ्नै भाषामा बोलेमात्र भाषा र संस्कृति जोगिने बताउनुभयो । सांस्कृतिक पर्व ः गौरा र महाकवि देवकोटाका बारेमा डा. राजेन्द्रवीर चन्द, डा. पुस्करराज भट्ट, वासुदेव पाण्डेय, पदमराज जोशी, हरिकृष्ण कडायत लगायतले चर्चा गर्नुभएको थियो ।

सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा कार्यक्रम भएको थियो । २०७९ भदौमा प्रकाशित सो पुस्तक काठमाडौमा विमोचन भएको थियो ।