• १३ साउन २०८१, आइतबार

बारामा छ ठाउँमा आगलागी, लाखौंंको क्षति

blog

फाइल तस्बिर

शिवशङ्कर मिश्र 

बारा, कात्तिक ८ गते । दीपावलीमा बालिएको दियाेले बारा जिल्लाको विभिन्न छ ठाउँमा आगलागी भएको छ । आगलागी हु्ँदा लाखौंं रुपियाँ बराबरको क्षति हुनुको साथै १५ वटा घरपालुवा पशुपंंक्षीसहित जानवर जलेका छन् । 

आगलागी हुनेमा आदर्शकोतवाल गाउँपालिका ६ पटेर्वा टोलका नेमिलाल राउत कुर्मीको गोठ घरमा बालिएको मैनबत्तीबाट सोमबार राति १० बजे आगलागी हुदाँ गोठभित्र रहेका २ वटा बाख्रा, ४ वटा पाठापाठी, ५ कुखुरा र ३ वटा हाँस जलेर मरेको कुर्मीले बताउनुभयो ।  

आगोबाट एउटा गाई र एउटा बाख्रा जलेर घाइते भएको उहाँको भनाइ छ । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय महेन्द्र आर्दशका प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगोबाट करिब ७० हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

यसैगरी निजगढ नगरपालिका ७ रुम्बा टोलका भीम रुम्बाको कुखुरा खोरमा दीपावली मनाउन बालिएको मैनबत्ती सल्केर सोमबार राती पौने ८ बजे आगलागी हुँदा ३ वटा राँगा जलेर मरेको तथा कुखुराको दाना, भाँडाकुँडा, पराल जलेर नष्ट भएको रुम्बाले बताउनुभयो । 

आगोलाई स्थानीयवासी, प्रहरी र निजगढको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिएको तथा आगलागीबाट अन्दाजी ४ लाख रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

सोहीअनुसार पचरौता नगरपालिका ३ रामनगर टोलका सुरज पासवानले दीपावली मनाउन बालेको दियोले सोमबार राति ८ बजे प्लाईको बक्सा जलेर नष्ट हुँदा त्यसभित्र राखेको नगद अढाई लाख रुपियाँ तथा १५ हजार बराबरको लत्ताकपडा जलेर नष्ट भएको प्रहरी चौकी.श्रीनगर बैरियाले जनाएको छ ।

यसैगरी कलैया उपमहानगरपालिका २० बसतपुर टोलका लक्ष्मण साहको घरमा रहेको किराना पसलमा बिजुली सर्ट भई सोमबार राति साढे ८ बजे आगलागी हुँदा १ थान फ्रिज, ३ बोरा चामल र अन्य मालसमान जलेर नष्ट हुँदा करिब ६० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरी चौकी बसतपुरले जनाएको छ ।

यस्तै, सोही वडा नम्बर –२७ सिसवा महेशपुर टोलका भुलावन रामले दीपावली मनाउन बालेको दियोले फुसको घरमा सोमबार राति पौने ८ बजे आगलागी हुँदा लत्ताकपडा, भाँडाकुडा, ना.१ ब.३१५१ नम्बरको मोटरसाइकल, नगद १० हजार र २ आनाको सुन जलेर नष्ट भएको अस्थायी प्रहरी चौकी बसपार्क कलैयाले जनाएको छ । 

यसैगरी विश्रामपुर गाउँपालिका १ वटनचोक नजिकै रहेको सोनालाल चौवेको फुसले छाएको चिया पसलमा बालिएको दियोबाट सल्केको आगोबाट सोमबार राति आगलागी हुँदा सबै समान जलेर नष्ट हुँदा करिब ६० हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।  आगोलाई सीमा प्रहरी चौकी छतवा र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।