• १९ असोज २०८१, शनिबार

गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्ध जान सक्दैन : प्रधानमन्त्री देउवा

blog

काठमाडौंमा सोमबार आयोजित बागमती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा/रासस

काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको बागमती प्रदेश स्तरीय संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘गठबन्धनका कारणले भोलिका दिनमा कसैले पनि प्रजातन्त्रविरोधी कार्य गर्ने, नेपालमा प्रजातन्त्रको खिलाफमा कोही जानसक्ने छैनन् । राष्ट्रको खिलाफमा कोही जान सक्ने छैनन् । राष्ट्रिय एकताको खिलाफमा कोही जान सक्ने छैनन् । समावेशिताको खिलाफमा कोही जान सक्ने छैनन् । अत्यन्तै समावेशी, सुन्दर नेपाल बन्नेछ ।’’

उहाँले कसैले प्रजातन्त्रविरोधी कार्य गर्न पनि नसक्ने बताउनुभयो । गठबन्धन कायम रहेमा समावेशिताको खिलाफमा पनि कोही जान नसक्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले अहिले सङ्क्रमणकालीन समय भएकाले आपसमा झगडा गर्न नहुने पनि बताउनुभयो ।

गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने उहाँको धारणा छ ।  प्रधानमन्त्री देउवाले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘गठबन्धनको कारणले सबैले टिकट पाउँदैनन् । यो हाम्रो पार्टीमा पनि, हरेक पार्टीमा त्यही समस्या होला । गठबन्धन छ चुनावी जितिहाल्छु टिकट चाहियो । त्यस्तो पनि छ अहिले । भोलिको दिनमा अझ यसलाई बढाउन सकिन्छ । भरसक म न्यायपूर्ण तरिकाले साथीहरूलाई चुनावमा उठाउने प्रयास गर्नेछु । हरेक पार्टीमा समस्या छ । तर अहिलेको बेला सङ्क्रमणकाल हो । अहिलेको बेला झगडा गर्ने बेला होइन । अहिलेको बेला गठबन्धन टिकाउनु हो । अब देश विकासमा जाने हो । पिछडिएको वर्गदेखि सबैलाई समान न्याय, अधिकार दिने बेला आएको छ । 

उहाँले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पार्नुभयो । देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उहाँले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ । देशमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशिता, कसैले हटाउन नसक्ने संविधान त्यसको रक्षा गरेर हामीले अगाडि बढेको खण्डमा हाम्रो देश सच्चा मानेमा अगाडि बढ्न सक्छ भन्ने लाग्छ मलाई ।’’

चुनावमा कुनै पनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । गठबन्धनका दलहरूबीच आपसमा एकताबद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उहाँले आग्रह गर्नुभयो ।