• १३ साउन २०८१, आइतबार

यात्रु ओसार्न दोहोरो ‘ट्रिप’

blog

सर्लाही (गोरखापत्र), कात्तिक ७ गते  ।  सर्लाहीका यातायात व्यवसायीले सङ्घीय राजधानी काठमाडौँबाट यात्रु ओसार्न फेरि दिनहुँ दोहोरो ‘ट्रिप’ गर्न थालेका छन् । 

साना सवारीलाई अहिले तिहार मनाउन काठमाडौँबाट घर आउने यात्रु ल्याउन भ्याइनभ्याइ नै छ । बिहान काठमाडौँबाट यात्रु लिएर आउने मिनीबस, हायस, विङ्गर, काबेली, टाटासुमोजस्ता सवारी दिउँसो पुनः काठमाडौँ नै फर्किएर जाने गरेका छन् । 

ऋरू बेला दिउँसो ३/४ बजे यहाँ आइपुग्ने सवारी भोलिपल्ट बिहान मात्रै यताबाट यात्रु लिएर फर्किन्थे । अहिले भने काठमाडौँबाट बिहान ५/६ बजे नै यात्रु उठाएर हिँड्ने सवारी दिउँसो एक/दुई बजेसम्म यहाँ आइपुगेर पुनः काठमाडौँ नै फर्किएर जाने गरेका लालबन्दीस्थित टिकट काउन्टरका सञ्चालक विजय लामाले जानकारी दिनुभयो । 

काठमाडौँबाट खचाखच यात्रु लिएर आउने गाडी दिउँसो यताबाट फर्किंदा भने रित्तै हुन्छन् । यताबाट रित्तै फर्किएर जानुपर्ने भन्दै तिहार मनाउन काठमाडौँबाट आउने यात्रुसँग चर्को भाडा लिने गरिएको गुनासो बढेको छ । आफूले काठमाडौँबाट सर्लाही आउँदा एक हजार पाँच सय रुपियाँ भाडा तिरेको एक यात्रुले बताउनुभयो । दिउँसो चल्ने साना सवारीसँगै रात्रि बसमा पनि काठमाडौँबाट घर आउने यात्रुको चाप बढ्दो छ । आइतबारबाट तिहारको बिदा सुरु भएकाले यात्रुको चाप अझ बढ्ने यातायात व्यवसायीले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख ईश्वर कार्कीका अनुसार पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप बढ्न थालेको छ ।