• १३ साउन २०८१, आइतबार

देउसीमा मादल प्रयोग कम

blog

मीना कँडेल

कावासोती, कात्तिक ७ गते । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार घरघरमा भित्रिसकेको छ । तिहार देउसीभैलो, फूल बत्ती र सेल रोटीको पहिचानसँग जोडिएको छ । 

तिहारमा देउसी भैलो खेल्दा बाजाका रूपमा मादलको प्रयोग गरिन्थ्यो । तिहारलाई लक्षित गरी बनाइएका मादलको राम्रो व्यापार हुने गर्छ । तर पछिल्ला वर्षहरूमा पर्व मनाउने शैलीमा पनि फेरबदल आएको छ । 

कावासोतीका मादल व्यवसायी रामप्रसाद नेपाली तिहारमा खेलिने देउसीभैलोमा आधुनिक बाजाहरूको प्रयोगसँगै मादलको प्रयोग हराउन थालेको बताउनुहुन्छ । 

अन्तर्राष्ट्रिय बजारबाट भित्रिएका आधुनिक डेग बुफरले मादलको स्थान ओगटेका छन् । मादलको प्रयोगमा कमी आएसँगै यसको व्यवसाय पनि सङ्कटमा परेको गुनासो उहाँको छ । 

बजारमा आएका गीत सङ्गीतले मादलको प्रयोग घटेको छ । मादल व्यवसायबाट नै जीविकोपार्जन गर्दै आउनुभएका नेपालीले केही वर्षपहिले तिहारका बेला २० देखि २५ हजार कमाउनुहुन्थ्यो । 

आफूले गरेको कार्यबाट जे जस्तो भए पनि परिवार पाल्न सकेकाले सन्तुष्ट रहेको उहाँ बताउनुभयो । अन्य बेलामा पनि बजारमा मादलको माग हुन छोडेको छ । मादल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ काठ, छाला, खरीजस्ता सामग्रीको पनि अभाव हुँदै गएको छ । जसका कारण मादल बनाएर बिक्री गर्ने व्यवसाय पनि सङ्कटमा परेको छ । केही वर्षअघिसम्म तिहार सुरु भएसँगै गाउँ, घरतिर जताततै मादलले गुञ्जायमान बनाउने गर्दथ्यो ।

पछिल्ला दिनहरूमा बदलिँदो साङ्गीतिक माहोलसँगै युवा पुस्ताहरूमा विदेशी र पश्चिमा संस्कृतिको छाप पर्दै जाँदा नेपाली मौलिक परम्पराका वाद्यवादन प्रतिको मोह नै मर्दै गएको छ ।

बढ्दो आधुनिकतासँगै इन्टरनेटको सुविधा सर्वसुलभ हुँदै जाँदा नेपाली मौलिक परम्पराका लोकसंस्कृतिहरू लोपोन्मुख हुँदै गएका छन् । बढ्दो आधुनिकताले विकसित गीतसङ्गीतप्रति युवापुस्ताको झुकाव बढ्दै गएको छ ।