• १३ साउन २०८१, आइतबार

पुल मर्मत नहुँदा सास्ती

blog

कालीकोट समाचारदाता

कालीकोट, कात्तिक ७ गते । कर्णाली नदीको उर्लिंदो बाढीले क्षतिग्रस्त बनाएको जितेबजार जोड्ने झोलुङ्गे पुल मर्मतमा कसैको ध्यान पुगेको पाइएको छैन । असोज १९ गतेको वर्षाले कर्णाली नदीको जलसतह बढेपछि पुल बगाएको भए पनि सो पुल बनाउनेतर्फ कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ । वर्षापछि कर्णालीमा आएको बाढीले पुल पूरै बगाएको छ । कर्णाली कोरिडोर र कर्णाली लोकमार्ग सबैतिरका सडक र पैदल सडक बन्द हुँदा कसैले आउजाउ नगरेका कारण पुल तर्ने कोही नहुँदा ध्यान नगएको सर्वसाधारण बताउँछन् ।

नरहरिनाथ गाउँपालिका–३ का मिनबहादुर बुढाका अनुसार सदरमुकाम आउनुपर्नेले माथिल्लो पुल प्रयोग गरिरहेका छन् । कर्णाली करिडोर र लोकमार्ग बन्द भएकाले मानिसको आउजाउ ठप्प हँुदा जितेको पुल बगाएको कसैलाई थाहा नभएको बताइन्छ ।

उहाँका अनुसार आजकल पैदल हिंँड्नेहरू तिला नदीको पुल हुँदै लालीघाटको पुल तरेर आउजाउ गर्दछन् । कोरिडोर खुलेको खण्डमा जितेको पुल आवश्यक पर्दछ । तिला नदीको पुल तरेर जाँदा एक घण्टा लामो पर्ने गरेको उहाँले बताउनुभयो । जितेको पुल बगाएपछि लामो भए पनि त्यही पुल प्रयोग गरेर जानुपर्ने अवस्था आएको उहाँको भनाइ छ । खाँडाचक्र नगरपालिका–२ का प्रेमबहादुर मल्लले उक्त पुल बगाएकोबारे प्रशासनिक निकायलाई नै थाहा नभएको बताउनुभयो । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जितेको पुल आधा मात्र बगाएको बताउनुभयो ।