• २० असोज २०८१, आइतबार

सजिलो र बढी आम्दानी दिने फूल खेती

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), कात्तिक ६ गते । फूल खेती र व्यवसायप्रति आकर्षण बढ्दो छ । अरू खेतीभन्दा सजिलो र आम्दानी पनि बढी हुने भएकाले किसान फूल खेतीप्रति आकर्षित भएका छन् । घोडाघोडी नगरपालिका–३, जुरपानीका निर्मला भण्डारी चौधरीले पुष्प व्यवसाय सुरु गरेको दुई वर्ष मात्र भयो । 

उहाँले सुरुको वर्ष आफ्नै १५ कट्ठा जमिनमा थाइल्यान्ड र कलकत्ता जातका सयपत्री फूल रोप्नुभयो । त्यसबेला उहाँ कैलालीको मध्य क्षेत्रमा पुष्प व्यवसाय गर्ने एक्लो हुनुहुन्थ्यो । बेच्न सकिन्छ कि सकिँदैन भनेर सुरु गर्नुभएको फूल खेतीले अहिले राम्रै आम्दानी दिएपछि उहाँ थप उत्साहित बन्नुभएको छ । 

“धान, गहुँ लगाउनुभन्दा फूलखेती सजिलो, मल र बीउमा धेरै खर्च पनि नहुने रहेछ । लगानीअनुसार धान, गहुँले भाउ पाउँदैन, फूलले राम्रो भाउ पाउँछ,” निर्मलाले अनुभव सुनाउनुभयो । गत वर्ष दुई क्विन्टल फूल बेचेर एक लाख २५ हजार रुपियाँ आम्दानी गरेको बताउने निर्मलाको अहिले एक बिघामा रोपेको फूल बेच्न तयार भएको छ  । 

निर्मलाका श्रीमान्ले स्थानीय सुखड बजारमा सानो पसल राख्नुभएको छ । आफूले उत्पादन गरेको फूल त्यही पसलबाट बिक्री गर्दै आउनुभएको छ । उत्पादन घोडाघोडी नगरपालिकाभित्रै खपत हुने निर्मलाको भनाइ छ ।  प्रतिकिलो पाँच सय रुपियाँ र प्रतिमाला एक सय रुपियाँले फूल बिक्री भइरहेको निर्मलाले बताउनुभयो ।

लम्कीचुहा नगरपालिका–३, लम्कीका भक्तबहादुर चलाउने पनि फूलखेतीमै रमाउनुभएको छ । निर्वतमान वडाध्यक्षसमेत रहनुभएका चलाउनेले अघिल्लो वर्षदेखि पुष्पखेती सुरु गर्नुभएको हो । उहाँले दस कट्ठा आफ्नै जमिनमा फूल खेती गर्नुभएको छ । 

आफू जनप्रतिनिधि हुँदा खेतीपाती किसानको कुरा राम्रोसँग बुझ्दै जाँदा फूल खेतीमा लाग्ने थोरै भएको पाएपछि आफूले यो व्यवसाय सुरु गरेको चलाउने बताउनुभयो । चलाउनेले भन्नुभयो, “गत वर्ष एक धुर जतिमा लगाएको थिए, छ हजार रुपियाँको फूल बिक्री भयो, छोरा पनि बीएस्सी एजी पढ्दै छ, ऊसँग पनि सल्लाह गरेँ, अनि अहिले दस कट्ठामा लगाएको फूल बिक्री हुँदै छ ।”

कृषिमा अरू पेसालाई भन्दा पुष्प व्यवसायलाई बढी सम्मान र आम्दानी पनि राम्रै हुने भएपछि यो व्यवसाय बिस्तारै बढाउँदै लैजाने चलाउनेले बताउनुभयो ।

तिहार नजिकिएसँगै भारतीय बजारबाट आउने माला बन्द गराई स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख सूर्यबहादुर थापाले बताउनुभयो । फूलमा आत्मनिर्भर हुनेगरी पुष्प कृषक प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।