• २ असार २०८१, आइतबार

मातृ वंशको डीएनए अध्ययन

blog

काठमाडौँ, कात्तिक ६ गते । जनसङ्ख्याको मातृ वंशबारे भएको एक अध्ययनले नेपालको मातृत्व डीएनए दक्षिण र पूर्वी एसियाली जनसङ्ख्याको मिश्रण भएको देखाएको छ । इतिहास, पुरातात्त्विक र आनुवंशिक जानकारी प्रयोग गरी गरिएको यस अध्ययनले नेपालका तिब्बत–बर्मेली समुदायको जनसाङ्ख्यिक इतिहास बुझ्न थप मद्दत गर्ने अनुसन्धानकर्ताको दाबी छ ।

यस अध्ययनका अनुसार नेपालीको पुरातन आनुवंशिक शृङ्खला बिस्तारै बसाइँ सर्ने क्रममा विभिन्न कालखण्डमा रूपान्तरण भएको छ । सम्भवतः दक्षिण–पूर्वी तिब्बत हुँदै करिब ३.८ देखि छ हजार वर्षअघि तिब्बती–बर्मन भाषा बोल्ने पुर्खाले हिमालय पार गरेको हुन सक्ने अनुसन्धानकर्ताको दाबी छ । 

अध्ययनका मुख्य विश्लेषक राजदीप बस्नेतले नेपालको मातृ वंश दक्षिण र पूर्वी एसियाली जनसङ्ख्याको मिश्रण रहेको अध्ययनबाट देखिएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ता बस्नेतले अध्ययनमा नेवार, मगर, शेर्पा, ब्राह्मण, थारू, तामाङ र काठमाडौँ र पूर्वी नेपालका विभिन्न जातीय समूहका ९९९ व्यक्तिको माइटोकोन्ड्रियल डीएनए अनुक्रम विश्लेषण गरिएको जानकारी दिनुभयो । यसमध्ये अध्ययनका लागि ४६१ नयाँ व्यक्तिको रगतको नमुना सङ्कलन गरिएको थियो ।  

यस अध्ययनमबाट धेरै जसो नेपाली दक्षिण र पूर्वी एसियाली क्षेत्रबाट आफ्नो मातृ वंश प्राप्त गरेको अनुसन्धानले देखाएको डीएनए फिङ्गर प्रिन्टिङ एन्ड डायग्नोस्टिक्स, हैदराबादका निर्देशक डा. के थङ्गराजले जानकारी दिनुभयो । अध्ययनमा विश्लेषण गरिएको तिब्बत–बर्मेलीभाषी नेपाली जनसङ्ख्यामध्ये, शेर्पामा ९४.३ प्रतिशत पूर्वी एसियाली वंशको सबैभन्दा धेरै आवृत्ति देखिएको प्राध्यापक तिलकराम श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै अध्ययनमा थारू (चितवन)मा ६८.४ प्रतिशत, तामाङमा ६५.९ प्रतिशत, मगरमा ५४ प्रतिशत र नेवारमा ५१ प्रतिशत देखिएको छ । यस अध्ययनका सहलेखक नागेन्द्र अवस्थीले नेवार र मगरजस्ता तिब्बत–बर्मेली समुदायले समकालीन उच्च उचाइमा रहेका तिब्बती र शेर्पाभन्दा फरक जनसङ्ख्याको इतिहास पत्ता लगाएको दाबी गर्नुभयो । 

यस्तै तिब्बतीसँगको केही मिश्रणबाहेक अधिकांश नेपाली तिब्बती–बर्मेली समुदायले उत्तरपूर्वी भारत, म्यान्मार र थाइल्यान्डका बासिन्दासँग वंशज मिलेको अध्ययनका क्रममा देखिएको त्रिभुवन विश्वविद्यालय बायोटेक्नोलोजी विभागका प्रमुख डा. कृष्णदास मानन्धरले जानकारी दिनुभयो ।