• १९ असोज २०८१, शनिबार

नेता पोखरेललाई राष्ट्रिय खेलाडीको साथ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ५ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आगामी निर्वाचनका लागि ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले क्षेत्र नं. ५ मा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  

काठमाडौंको महाराजगञ्जमा आज आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु हरि खड्का, राकेश श्रेष्ठ, दीपक तामाङ, कमल तामाङ, सञ्जु महर्जन, अमर लामासहितका खेलाडीहरुले काठमाडौं क्षेत्र ५ का प्रतिनिधिसभाका उम्मेदवार पोखरेल, प्रदेश सभा ५ (१) का दीपक निरौला र ५ (२) का नारायण सिलवाललाई साथ दिने घोषणा गर्नुभएको हो । 

खेलाडीहरुसँग ईश्वर पोखरेल नामक कार्यक्रममा खेलाडीहरुले एमालेको पालामा खेल क्षेत्रमा उल्लेख्य काम भएको भन्दै साथ दिने बताउनुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष  पोखरेलले एमालेसँधै खेलाडीहरुको साथमा रहेको बताउनुभयो । 

एमालेको पालामा एउटा पालिका, एउटा खेलकुद ग्रामको सुरुवात गरेको बताउँदै उहाँले काठमाडौं क्षेत्र नम्बर ५ को  टोखा र बुढानिलकण्ठका कभर्ड हल निर्माण गरिएको जानकारी दिनुभयो । 

भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माणदेखि देशभरका खेलाडीको बीमा कार्यक्रम र दक्षिण एशियन खेलकुद प्रतियोगिता तथा ओलम्पिकका विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था एमाले सरकारले गरेको उहाँले स्मरण गर्नुभयो । एमालेको चुनावी अभियानमा साथ दिँदै नेपाली माइकल ज्याक्सनका नाममा चर्चित कलाकार रेमण्ड सापकोटाले पनि प्रस्तुति दिनुभएको थियो ।