• १९ असोज २०८१, शनिबार

निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नुपर्छ : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई गटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा विजयी हुने बताउनुभएको छ । पार्टीभित्र सानामसिना असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने बताउनुभयो । तिहार, नेपाल सम्बत र छठको अवसरमा एमाले ललितपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।

“साथीहरुलाई म आग्रह गर्न चाहन्छु । हामी समृद्ध नेपाल बनाउने संकल्पमा छौं । पालो सबैको आउँछ । हामी निर्वाचन जित्नु छ । निर्वाचन जित्ने, सरकार ठिक ढंगले चलाउने, संसद ठिक ढंगले चलाउनु पर्छ” अध्यक्ष ओलीले थप्नभयो, “पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी हुन दिइने छैन, गुटबन्दी पार्टीभित्र छैन । हुँदैन, हुन दिइदैन ।” 

“पार्टीभित्र कोही काखा, कोही पाखा हुँदैन । कोही नजिक, कोही टाढा हुँदैन । कोही अवसरै अवसरले थिचिने कोही अवसरको नजिक पनि नपुग्ने हुनुहुँदैन” अध्यक्ष ओलीले भन्नुभयो, “असमान र विभेदकारी व्यवहार अव हुँदैन । एउटाले पाएपछि पाएको छ, अर्कोले नपाएपछि पाएको छैन, यस्तो हुनुहुँदैन ।” विगतमा भएका कमी कमजोरी भए पनि सच्याएर अघि बढिने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले मंसीर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनमा योगदान गर्न सबैलाई आह्वान गर्नुभयो ।

देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अब परमादेश होइन्, जनादेशसहितको बलियो र सशक्त सरकार बन्छ ।” मजबुत सरकार भएमा मात्र देशको विकास अघि बढ्ने उहाँको भनाइ छ । 

“यो निर्वाचन साधारण आवधिक निर्वाचन मात्र होइन । यो निर्वाचन वास्तवमा असाधारण निर्णय गर्नुपर्ने, देश जित्ने कि हार्ने कुराको टुङ्गो लाग्ने निर्वाचन हो” अध्यक्ष ओलीले थप्नुभयो, “सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु– यो निर्वाचनलाई हामीले सार्थक निर्वाचन र देशका निम्ति, देशको हितको पक्षमा फैसला गर्नेगरी अगाडि बढाउन आग्रह गर्छु ।”