• १२ असोज २०८१, शनिबार

गायकको अनुभवमा तिहार

blog

काठमाडौँ, कात्तिक ५ गते । फूलैफूलको चाड तिहारको रौनक सुरु भइसकेको छ। तिहारले सबैलाई छोइसक्यो। आममानिससँगै  गायक–गायिकालाई पनि तिहारले छोपिसक्यो। तिहार सबैलाई मन पर्ने चाड पनि हो। गाउँघरदेखि सहरबजारसम्म झिलिमिली हुने भएकाले यो पर्व सबैलाई मन पर्छ। देउसीभैलोको रौनकले तिहारलाई झनै महत्त्वपूर्ण बनाइदिएको छ।  

गायक युवराज चौलागाईं तिहारको पूरै समय परिवारलाई दिने सुरसारमा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “तिहार मलाई एकदमै मन पर्ने चाड हो। म प्रायः कलाकार सङ्घबाट आयोजना हुने देउसीभैलो कार्यक्रममा सहभागी हुने गर्छु। सानो हुँदाको तिहार एकदमै रमाइलो हुन्थ्यो तर अहिले त्यसको ‘चार्म’ हराइसक्यो।” 

घरमा आमाले पकाउनुभएको सेलरोटी खाएर साथीभाइसँग देउसीभैलो खेल्न जाँदाको क्षण नै भिन्न रहेको उहाँ सम्झिनुहुन्छ। “अब त्यो बेलाको समय कहिले फर्केर आउला र ? त्यति बेला देउसीभैलो खेल्नेहरू धेरै हुन्थे तर अहिले कम छन्,” उहाँ भन्नुहुन्छ। अहिले हाम्रो कला संस्कृति लोप हुँदै गएको महसुस भएको र तिहारमा पहिलाको जस्तो माहोल पनि नभएको उहाँको भनाइ छ। 

गायिका अनुष्का पाठकलाई पनि तिहार निकै मन पर्छ। दाजु विदेश भएकाले भाइलाई मात्र टीका लगाइदिने उहाँ बताउनुहुन्छ। “तिहारमा पशुपन्छीको पनि सम्मानपूर्वक पूजा गरिने हुँदा मलाई यो चाड निकै मन पर्छ,” पाठक भन्नुहुन्छ, “तिहारमा देउसीभैलो र झिलिमिली बत्तीको रमाइलो नै छुट्टै हुन्छ। सानो हुँदा देउसीभैलो निकै खेलिन्थ्यो। त्यो बेलाको माहोल नै बेग्लै थियो।” अहिले विभिन्न सङ्घसंस्थाद्वारा आयोजना हुने कार्यक्रममा गएर देउसीभैलो मनाउने तरखरमा रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “तिहार भनेकै सेलरोटी र मिठाई खाने चाड हो। त्यसैले पनि मलाई यो चाडमा एउटा भिन्दै अनुभूति हुन्छ।” झिलिमिली बत्तीसँगै देउसीभैलो खेल्ने साथै नाचगान पनि गर्न पाइने भएकाले अधिकांशलाई तिहार बढी मन पर्ने उहाँ बताउनुहुन्छ। 

गायिका राधिका हमाल पुन यस पटकको तिहार आफ्नै घर रोल्पामा मनाउने सुरसार कसे पनि समय अभावका कारण घर जाने नजानेमा दोधार रहेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “चुनावी गीतको रेकर्डिङले गर्दा अलि व्यस्त भइएको छ।” परिवारसँग चाडपर्व मनाउँदाको रमाइलो बेग्लै हुने र यस क्रममा आफन्त, दाजुभाइसँग भेट हुँदा खुसी लाग्ने उहाँ बताउनुहुन्छ। यस पटकको देउसीभैलो राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानबाट खेल्ने योजना उहाँको छ। “अहिले देउसीभैलोमा धेरै परिवर्तन आएको छ। पहिला देउसी खेल्न जाने भनेपछि धेरै जाँगर आउँथ्यो अहिले त्यस्तो जाँगर आउँदैन,” उहाँ भन्नुहुन्छ। आफ्ना दाजुभाइ कोही नभएकाले दिदीबहिनीसँग टीका लगाउने गरेको पनि उहाँ बताउनुहुन्छ। 

लोकगायक आशिष सचिन भन्नुहुन्छ, “विगतका केही वर्ष गीतसङ्गीतकै सिलसिलामा देशबाहिर भइयो। यस पटकको तिहार भने परिवारजन र साथीभाइसँग भव्य रूपमा मनाउने योजनामा छु। साङ्गीतिक कार्यक्रम पनि अहिलेलाई थाती राखेको छु।”  देउसीभैलो पहिला खेल्ने गरेको तर अहिले खासै नखेल्ने सचिन बताउनुहुन्छ।