• १२ असोज २०८१, शनिबार

उत्पादन घट्ने अनुमान

blog

शान्ता अधिकारी

चितवन, कात्तिक ५ गते । चितवन जिल्लामा यस वर्ष धान उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने पूर्वानुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष ५ देखि सात ७ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ । 

अनियमित वर्षा, कम गुणस्तरको बीउ, रासायनिक मलको अभावजस्ता कारणले धानको उत्पादन घट्ने अवस्थामा पुगेको हो । किसानले बीउमा ध्यान नदिनु, कीराको प्रकोप देखिनु, धान फूल खेल्ने समयमा हावाहुरीसहितको पानीका कारण पनि उत्पादनमा असर पर्ने देखिएको थापाले बताउनुभयो । 

कृषकले  सिफारिस गरिएकोभन्दा फरक प्रकृतिका बीउलगायका कारण घाँटी मरुवा, पेनिकल ब्लाइट, मिलिब्लग, फट्के कीरा र गभारोजस्तो रोगको समेत प्रकोप देखिएको र यसले उत्पादनलाई असर पार्ने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

कृषकले भने समयमा मल नपाएका कारण धान उत्पादन घटेको बताउँदै आएका छन् । भरतपुर महानगरपालिका–८ का कृषक विश्वराज पौडेल धान रोप्ने समयमा मलको अभावले नै यो वर्ष उत्पादन राम्रो लिन नसकिने अवस्था रहेको गुनासो गर्नुभयो । उहाँले नेपालको प्रमुख बालीका रूपमा रहेको धान उत्पादन वृद्धि गर्न सबैभन्दा महŒवपूर्ण मलको सहज आपूर्ति भएको बताउनुभयो । 

“गत वर्षजस्तै यस वर्ष पनि भनेको बेला मल पाइएन अनि उत्पादन कसरी राम्रो हुने ?” उहाँले प्रश्न गर्नुभयो ।क्षेत्रफल थोरै भए पनि धान उत्पादनका लागि चितवन जिल्ला अग्रस्थानमै पर्छ । हिउँदे र बर्खे गरी २८ देखि ३० हजार हेक्टर क्षेत्रफलमा धान लगाउँदा चितवनमा वार्षिक एक लाख टन हाराहारीमा धान उत्पादन हुँदै आएको छ । पछिल्लो तथ्याङ्कले चितवनमा प्रतिहेक्टर ३.४० टनको हाराहारीमा धान उत्पादन हुने गरेको छ । 

जमिनको खण्डीकरण, खेतीयोग्य जमिन घडेरीमा परिवर्तन गरिँदा यहाँ खेती गरिने जमिनको क्षेत्रफल घट्दो क्रममा छ । चितवन जिल्लामा 

‘धान जोन’ छ । धानको औसत उत्पादन बढ्दो भए पनि खेती गर्ने जमिन घट्दो क्रममा रहेका कारण समग्र उत्पादनमा प्रभाव पार्ने गरेको छ । चितवन जिल्लाको पूर्वी क्षेत्रमा धान थन्क्याउने सुरसार भएको छ भने पश्चिम चितवनमा अबको एक सातामा धान काट्न सुरु हुनेछ ।